– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, जेठ २०
चितवनमा जेठ १८ गतेबाट सुरु भएको अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी आजबाट सकिएको छ । अन्र्तराष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र चितवनमा नेपाल पोल्ट्री महासंघ र इण्डीया पोल्ट्री इक्युपमेन्ट एशोसियसनको संयुक्त आयोजनामा प्रदर्शनी भएको थियो । तीन दिनसम्म चलेकोे प्रदर्शनीको प्रमुख उद्देश्य नेपालको पोल्ट्री क्षेत्रको समग्र विकास गर्न नवीनतम अत्याधुनिक प्रविधिहरु भित्र्याउने रहेको थियो ।
प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । प्रदर्शनीमा नाम दर्ता गरेर मात्रै ६ हजार र उद्घाटनको अवसरमा २ हजार गरी ८ हजार जनाले अवलोकन गरेका छन् ।
अपेक्षा गरेभन्दा राम्रो भएकोे नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन् । उनका अनुसार विदेशबाट आएका पाहुनाहरुले पनि सन्तुष्टि जनाएका छन् ।
प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शकहरुले नवीनतम प्रविधिहरुको प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा नेपाल, भारत, जर्मनी, बेल्जियम, नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, सिंगापुर, ताइवान, इटली, इजरायल, बंगलादेश लगायत विभिन्न देशका पोल्ट्रीसँग सम्बन्धीत कम्पनीहरुको स्टल रहेका थिए ।
नेपाली पोल्ट्री क्षेत्रको सुदृढिकरण र व्यवसायीकरण गर्ने उद्देश्यले आधुनिक यन्त्र, अत्याधुनिक प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लिमेण्ट्स, डेरी उद्योग, पोल्ट्री उद्योग, दाना उद्योग, ह्याचरी उद्योग र मासुजन्य उद्योग लगायतका सम्पूर्ण पशुपन्छी पालन, प्रशोधन र बजारीकरण सम्बन्धि विभिन्न क्षेत्रहरु समेटेर नेपाली पोल्ट्री क्षेत्रलाई उच्च व्यवसायीक परिचय दिई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र अन्य विकसित देशहरुमा भइरहेको पोल्ट्रीजन्य उत्पादनका प्रविधिहरु नेपालमा भित्राउने महत्वपूर्ण वातावरण बनाउन अन्तर्राष्ट्रिय प्रदर्शनी आयोजना गरिएको थियो । उक्त लक्ष्य पूरा हुने गरी प्रदर्शनी सम्पन्न भएको आयोजकको भनाइ छ ।
प्रदर्शनीपश्चात नेपाली पोल्ट्री कृषकले कम लागतमा पोल्ट्रीजन्य वस्तुको उत्पादन गरी उपभोक्ताले सस्तो, सुलभ तथा गुणस्तरीय पोल्ट्रीजन्य उत्पादन खरिद गर्ने वातावरण बनाउन पनि सहयोग पुग्ने महासंघको विश्वास थियो ।
प्रदर्शनीमा पोल्ट्री व्यवसायमा नवीनतम प्रयोग सम्बन्धी गोष्ठी, बैठक र अन्तरक्रियासहित तीन दिने पोल्ट्री पाठशाला सेमिनार समेत गरिएको थियो ।
भरतपुर भ्रमण वर्षलाई समेत सहयोग पुर्याउने उद्देश्य राखिएको प्रदर्शनीका क्रममा चितवनको होटल क्षेत्र समेत चलायमान बनेको थियो । यसले चितवनको पर्यटन प्रवद्र्धन अन्र्तर्राष्ट्रिय रुपमा गराउन समेत सहयोग पुर्याएको छ ।














