चितवन, जेठ २
भरतपुर महानगरपालिका र कालिका नगरपालिकासँगको समन्वयमा समावेशी शिक्षा परियोजना अन्तर्गत राष्ट्रिय बहिरा महासंघ नेपालले दुबै पालिकाका ६ स्थानहरुमा कचहरी नाटक गन्तव्य: वे टु स्कुल मंचन गरेको छ ।
बैशाख ३० गते देखि जेठ २ गतेसम्ममा मेघौली, शक्तिखोर, क्लबचोक, नारायणी नदी किनार, गीतानगर बजार र बालकुमारी मा.वि गरी ६ प्रदर्शनहरु गरिएका हुन् । घरमा आधारित शिक्षा कार्यक्रममा अपाङ्गता भएका बालबालिकालाई घरमै गएर आधारभूत पठनपाठन गराउने राष्ट्रिय बहिरा महासंघ नेपालकै शिक्षक कर्मचारीहरुकै अभिनय रहेको उक्त नाटकले अपाङ्गता भएका बालबालिकालाई गरिने पारिवारिक हेरचाह र उनीहरुको विद्यालयमा भर्ना सम्बम्धी मुद्दाहरुलाई उठान गरेको थियो ।
शिक्षामा सम्पूर्ण बालबालिकाको समान अधिकार र सबै प्रकारका बालबालिकाका लागि पहुँचयोग्य समावेशी शिक्षाका कानुन बने पनि त्यसको कार्यान्वयनमा अझै पनि संवेदनशीलता र सचेतनाको अभाव भएकाले नाटकको प्रदर्शनमार्फत् यिनै कुराहरुलाई बहसमा ल्याउने जमर्को गरेको परियोजनाकी संयोजक शर्मिला तामाङले बताउनुभयो ।
उत्तम गुरुङ, रसिका तामाङ, आश्ना सापकोटा, रश्मि चौधरी, ज्ञानेन्द्र प्रजा, सहसा खनाल, निशा राना मगर, र विशाल सापकोटाको अभिनय रहेको नाटकको परिकल्पना, लेखन र निर्देशन रंगकर्मी अन्जान प्रदीपले गरेका हुन् । सामाजिक परिवर्तनका लागि सडकहरुमा मंचन र बहस हुने यस्ता नाटकहरुले सोझै समाजसँग संवाद गर्ने भएकाले राष्ट्रिय बहिरा महासंघ नेपालले सराहनीय काम थालेको प्रदीप बताउँछन् ।
राष्ट्रिय बहिरा महासंघ नेपालले भरतपुर महानगरपालिका र कालिका नगरपालिकासंग समन्वय गर्दै अपाङ्गता भएका बालबालिकालाई घरमै आधारित शिक्षाका कार्यक्रमहरु गर्नुका साथै पालिकाभित्रका विभिन्न विद्यालयहरुमा स्रोत कक्षाहरु पनि संचालन गर्दै आइरहेको छ ।














