चितवन, २७ चैत
चितवनमा आजदेखि बिक्रमबाबा मेला औपचारिकरुपमा सुरु भएको छ ।
आज मंगलबार भरतपुर महानगरपालिका उपप्रमुख एवम् मेला आयोजना मूल समारोह समितिका संयोजक चित्रसेन अधिकारीले एक कार्यक्रमका बीच बिक्रम बाबाको पूजा आराधना गरी मेलाको शुभारम्भ गरेका हुन् ।
मेलाको शुभारम्भ गर्दै नगर उपप्रमुख अधिकारीले बिक्रम बाबा सबैको आस्था र धरोहर रहेको बताए । “हिजोका दिनमा थारु समुदायले मात्रै मनाउदै र मान्दै आएको यस पर्वलाई अहिले सबै जातजातिहरुले उत्तिकै महत्वका साथ मनाउँदै आएको पाइन्छ। ” उनले भने ।
मेला १५ दिनसम्म चल्नेछ । चैतेदसैँलाई लक्षित गरी हरेक वर्ष चैत औंसिदेखि पूणिर्मासम्म मेला लाग्छ । विक्रम बाबाको दर्शन गर्न आउने भक्तजनहरुका लागि राप्ती नदीमा डुङ्गाको व्यवस्था गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिए । चैते दसैँमा हजारौंँ भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ ।
मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लमजङ, गोर्खा, मकवानपुरलगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजन आउने गर्छन् । साथै छिमेकी राष्ट्र भारतबाट पनि दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् ।
विक्रम बाबाको पूजा परापूर्वकालदेखि थारु जातीले गर्ने भए पनि पछिल्लो समय अन्य जातजातीको पनि यसमा आस्था बढेको देखिन्छ । विक्रम बाबामा दर्शन गर्नाले सन्तान प्राप्ति, सुखलगायत मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।
किवंदन्तीअनुसार वनाम गरेको आदीबासीको (गुरौ) बाघको आक्रमणबाट ज्यान गएको ठाउँमा पूजा गरे भाकल पूरा हुने, परिवारमा शान्ति, सन्तान प्राप्ति, मनोकामना पूरा हुने विश्वास छ ।
विक्रमबाबा अद्भूत क्षमताका व्यक्ति हुनुहन्थ्यो । उहाँँले जल, जमिन र जङ्गललाई आफ्नो जीवनको आधार बनाएर बसेका थारू समुदायको कल्याण गर्दै आएका आउनुभएको थियो । विक्रम बाबामा आएर पूजाआजा गरेर स्मरण गरेपछि सन्तान प्राप्त हुने धार्मिक विश्वास छ ।







