चितवन, १० चैत
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले साइकलको प्रयोगले वातावरणको प्रदूषण रोक्ने भएकाले स्वास्थ जीवनशैली र प्रदूषणरहित वातावरणका लागि यसको प्रयोग महत्वपूर्ण रहने बताउनुभएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘प्रज्ञा स्मृति साइक्लिङ प्रतियोगिता’को उद्घाटन गर्दै उहाँले साइकलको प्रयोग गर्दा हुने फाइदाका बारेमा जानकारी गराउन आवश्यक रहेको बताउनुभयो ।
“साइक्लिङ प्रदूषणरहित यात्रा हो । यसले स्वच्छ वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ”, मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो । गाडीको विकल्पका रुपमा साइकलको प्रयोग गर्न सके मानव स्वास्थ्यलाई फाइदा हुने उहाँको भनाइ छ ।
मन्त्री जम्कट्टेलले सहिदका सपना पूरा गर्नका लागि अविचलित भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ विभिन्न समयमा आन्दोलनमा लागेर सहिद भएकाको सपना भनेको समाजलाई व्यवस्थित बनाउने, सुशासन कायम गराउने, जनआधारित शासन प्रणाली सञ्चालन गर्ने हो । त्यसलाई पूरा गर्नका लागि अविचलित भएर हामी लाग्नुपर्छ ।”
कार्यक्रमका संयोजक सन्तु दराईले नेपालीको स्वास्थ्य अवस्था राम्रो राख्नका लागि साइकलको प्रयोग बढाउनु पर्ने सन्देश दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।







