६ चैत, भरतपुर ।
रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी शालीन पोखरेलको विषयमा अनुसन्धानका लागि पक्राउ परेका तीन जना शिक्षकलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
शालिनको मृत्यु भएपछि पक्राउ परेका प्रधानाध्यापक बालहरि देवकोटा, सहप्रधानाध्यापक किरणबहादुर अधिकारी र होस्टल वार्डेन कमलप्रसाद शर्मा रिहा भएका हुन् ।
चितवन जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको इजलासले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतले प्रधानाध्यापक देवकोटालाई ३ लाख र सहप्रधानाध्यापक अधिकारी र होस्टल वार्डेन शर्मालाई जनही ५/५ लाख धरौटी बुझाउन आदेश दिएको थियाे ।
गत फागुन १२ गते शालीन होस्टेलका पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
शालीनका बुबा दीपेन्द्र पोखरेलले भने हत्या अभियोगमा जाहेरी दिएका थिए । प्रमाण नपुगेपछि सरकारी वकिलको कार्यालयले आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गरेको थियो ।







