चितवन, १० फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशभरका दूध र मह किसानको माग पूरा गर्न सरकारलाई चेतावनी दिएका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले भरतपुरको फोहोर व्यवस्थापन पेचिलो बन्दै गएको बताए । “चितवनको भोजाड सडकखण्ड स्तरोन्नति नहुँदा जनताले समस्या भोगिरहेका छन्, सरकार गम्भीर हुन् अनुरोध गर्छु”, लामिछानेले भने ।
‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसान आन्दोलनमा छन्, दूध पोखेका छन् । अर्कातिर विदेशबाट आउने पाउडर दूध र नक्कली महका कारण किसान मारमा छन्,’ लामिछानेले भने, ‘किसानको आन्दोलनलाई नजरअन्दाज गर्यो भने किसानरूले सरकार ढाल्ने क्षमता राख्छन् । होसियार रहनु होला ।’
विदेशबाट पाउडर दूध आएपछि आफूहरुले मूल्य नपाएको भन्दै केही दिन पहिले चितवनका किसानले सडकमा दूध पोखरेर आन्दोलन गरेका थिए ।







