चितवन, ३ माघ
चितवनबाट भारततर्फ लागुऔषध चरेस लैजाँदै गरेको अवस्थामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बैहराईच, थाना देहात कोतावाली नाजिरपुरा नई बस्ती बस्ने साफिर अलि र सोही ठेगाना भएका मोहमद अफजाल रहेका छन् । इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको प्रहरीले बुधवार भारतीय नम्बरको कार चेकजाँच गर्ने क्रममा चरेस फेला पारेको हो ।
३२ एनएम ४४७६ नं भारतीय कारको पछाडि डिक्कीमा लुकाई छिपाई राखेको अवस्थामा खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा चरेस फेला परेको ईप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट ३५ किलो लागु औषध चरेस, सिम सहितको २ थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।







