भरतपुर, ०२ फागुन ।
हिसान कप अन्तर कलेज नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि अर्बिट कलेजले जितेको छ ।
आज (बुधबार) सम्पन्न उपाधि भिडन्तमा एपेक्स एकेडमीलाई हराउँदै अर्बिट च्याम्पियन बनेको हो । भरतपुर १० गेष्टहाउस चौरमा भएको फाइनलमा अर्बिटले एपेक्सलाई २-० ले निराश बनायो ।
अर्बिटको जितमा सुगम तामाङले एक गोल गरे । अर्को एक गोल अर्बिटले उपहार पाएको थियो । पहिलो हाफमा उपहार गोलबाट अग्रता दिएको अर्बिटका सुगमले दोस्रो हाफमा गोल गर्दै जित सुनिश्चित गरे । अर्बिटका निर्जल शाही म्यान अफ दि म्याच भए ।
च्याम्पियन बनेको अर्बिटले ट्रफीसहित नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेतामा सीमित एपेक्सले ट्रफीसहित २० हजार रुपैयाँ प्राप्त गरेको छ ।
यस्तै एपेक्सका डिफेन्डर विश्वास गुरुङ प्रतियोगिताभरको उत्कृष्ट खेलाडी घोषित भए । अर्बिटका अर्बिन क्षेत्री उत्कृष्ट गोल रक्षक हुँदा अर्बिटकै करिब पुन सर्वाधिक गोलकर्ता घोषित भए ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) को आयोजना तथा चितवन जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा १४ टोली सहभागी थिए ।