-माधव सापकोटा
फागुन १ , चितवन
चितवनको भरतपुर–४ स्थित लंकुमामा नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरमा फागुन २ देखि १० गतेसम्म चल्ने श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को पूर्व सन्ध्यामा आज मोटर साइकल तथा गाडी र्याली सम्पन्न भएको छ ।
मन्दिर परिसरबाट सुरु भएको र्याली भरतपुरको धर्मचोक, त्रिचोक, कटहरचोक, बुद्धचोक, शरद्पुर, गौरीगन्ज, हाकिमचोक, चौबिसकोठी, पिपलचोक, नवदुर्गाचोक, हरिकीर्तनचोक, अद्वैतचोक, आनन्दचोक, लक्ष्मी मावि, अद्वैतचोक, धारापानीचोक, वैकुण्ठचोक हुँदै मन्दिरमा आएर समापन भएको थियो । र्यालीमा हजारौं भक्तजनहरूको सहभागिता रहेको संयोजक अर्जुन सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रमअन्तर्गत भोलि फागुन २ गते बिहान १०ः३० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिक , जातीय लगायत विभिन्न संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर, ॐकार झण्डासहितको शोभा–कलशयात्राका साथ दिउसो २ बजे समुद्घाटन हुने आयोजक समितिले जनाएको छ।फागुन ६ गतेदेखि १० गतेसम्म भगवान्का विग्रहहरूको प्राणप्रतिष्ठात्मक विशेष कार्यक्रम हुने सो महोत्सवमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायण हुने कार्यक्रम रहेको छ ।

महोत्सव रंग मन्दिर वृन्दावनका पीठाधीश्वर गोवर्धन रंगाचार्य ‘बालक स्वामी’को प्रधान आचार्यत्व, पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्व एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा सम्पन्न हुँदैछ ।







