– माधव सापकोटा
माघ २६, चितवन
चितवनको भरतपुर–४ लंकुस्थित नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरमा रंग मन्दिर वृन्दावनका गोवर्धन पीठाधीश्वर गोवर्धन रंगाचार्य ‘बालक स्वामी’को प्रधान आचार्यत्व, पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्व एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा फागुन २ देखि १० गतेसम्म श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० संचालन हुने भएको छ ।

महायज्ञमा देश -विदेशका साधुसन्त, धर्माचार्य, विशिष्ट विद्वान्, शिक्षाविद्हरूको दैनिक प्रवचन, चार वेद, वेदाङ्ग, १८ पुराण, रामायण, महाभारत आदि अष्टादश विद्याग्रन्थहरूको पाठ–पारायणका साथ लक्ष्मीनारायण पुष्पयाग, पञ्चकुण्डीय विष्णुयाग आदि विशेष अनुष्ठान, भक्तिसंगीत, लीला/झाँकी प्रदर्शन हुने प्राण- प्रतिष्ठा सम्पादन मूलसमितिले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
कार्यक्रमअन्तर्गत फागुन १ गते दिउसो १ बजे मोटरसाइकल तथा गाडी र्याली ,फागुन २ गते बिहान १०ः३० बजेदेखि धार्मिक, सामाजिक, शैक्षिक , जातीय लगायत विभिन्न संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर, ॐकार झण्डासहितको शोभा–कलशयात्रा तथा दिउसो २ बजे समुद्घाटन हुने आयोजक समितिले जनाएको छ।
फागुन ६ गतेदेखि १० गतेसम्म भगवानका विग्रहहरूको प्राणप्रतिष्ठात्मक विशेष कार्यक्रम सुरु हुने छ ।
फागुन २ देखि दैनिक रूपमा बिहान ६ देखि १०ः३० बजेसम्म पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या पारायण , बिहान ११ः३० देखि २ः३० बजेसम्म प्रमुख वाचकबाट सङ्गीतमय कथाप्रवचन, दातासम्मान ,दिउसो २ः३० देखि ४ः३० बजेसम्म विशिष्ट धर्माचार्य, विद्वान्, विचारक एवम् विद्वान्हरूबाट प्रवचन, साँझ ७ बजेदेखि १० बजेसम्म राष्ट्रिय एवम् स्थानीय कलाकारहरूबाट साङ्गीतिक भजन, लीला/झाँकी प्रदर्शन हुने मूल समितिका संयोजक कमलनयन कंडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।








