भरतपुर, माघ २४
चितवनमा लागुऔषध सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्ने भरतपुर महानगरपालिका वडा नं. २ क्षेत्रपुर बस्ने १९ वर्षीय निरज श्रेष्ठ रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट गणेशस्थान चितवनबाट खटिएको प्रहरीले भरतपुर महानगरपालिका वडा नं. ११ गणेशस्थान स्थित सडक खण्डमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा सिमलढाप तर्फबाट गणेशस्थान तर्फ दुई जना सवार रही आउँदै गरेको बा. प्र. ०३-०४ प ४०२३ नम्बरको स्कुटरलाई चेकजाँचको लागी रोक्न खोज्दा दुवैजनाले स्कुटर र खैरो रंगको भिर्ने झोला छोडी भागेका थिए।
प्रहरीले चेकजाँच गर्दा उक्त झोला भित्र प्लाष्टिकको झोलामा दुईवटा पोका बनाई राखेको प्रतिबन्धित लागू औषध गाँज १ किलो २०० ग्राम फेला परेको प्रहरीले जनाएको छ ।
उक्त लागुऔषध र स्कुटर बरामद गरी निज व्यक्तिको खोजतलाश गर्ने क्रममा हिजो (मंगलबार) दिउँसो महानगरपालिका वडा नं. ०८ गौरीगंजबाट उक्त व्यक्तिलाई पक्राउ गरेको हो ।
फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।