काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकको कल्भर्टमुनि गएको मंसिर ६ मा बोराभित्र दुईवटा शव भेटियो । जुटको बोराभित्र हात र खुट्टा बाँधी पोको पारेर फालिएको अवस्थामा फेला परेको शवको पहिचान गर्नै प्रहरीलाई हम्मेहम्मे पर्यो ।
शव फेला परेको करिब एक महिनासम्म पनि पहिचान हुन नसकेपछि चितवन प्रहरीले सुरुमा हुलिया र पछि स्केच नै बनाएर सार्वजनिक गर्यो ।
शवको प्रकृति हेर्दा उनीहरूको हत्या गरेर फालिएको भन्ने कुरामा शंका थियो । तर, चितवन प्रहरीलाई मानिस हराएको कुनै निवेदन र उजुरी नआएपछि अनुसन्धान गर्नै सकस पर्यो ।
घटना गम्भीर प्रकृतिको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत चितवन पुगेर अनुसन्धानमा खटियो । सीआईबीकै टोलीले शव फेला परेको डेढ महिनापछि घटनाको पटाक्षेप गरेको छ ।
सीआईबीका एसपी नवराज अधिकारीका अनुसार मृतक भारतको विहार फुलबारीया, सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाह र भारत मोतिहार संगावडिह सुगौली चम्पारणका ३० वर्षीय अस्मिता भन्ने सन्जुदेवी भएको खुलेको हो ।
उनीहरू दुवैजनाको हत्या भारत मोतिहारका ३३ वर्षीय अखिलेश भगतले गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । भगतले उनीहरूको हत्या गरेको दुई हप्तापछि मात्रै चितवन छाडेका थिए । प्रहरीको अनुसन्धानका क्रममा भगतले मंसिर ३ गतेको राति उनीहरूको हत्या गरेको खुलाएको छ ।
हत्यालगत्तै भगतले राति १२ बजेर ४५ मिनेट जाँदा बोराभित्रको शव फालेको सीसीटीभी फुटेजबाट देखिएको थियो । पहिलो पटक बोराभित्रको शव कल्भर्टनजिक फालेर फर्किएका अखिलेशले पुनः राति १ बजेर १२ मिनेट जाँदा दास्रो शव समेत बोराभित्र साइकलमा नै राखेर फालेको देखिएको थियो ।
हत्या गरेर शव फालेको दुई हप्तासम्म पनि उनी चितवनमै बसेको खुलेको छ । प्रहरीको अनुसन्धानले उनी मंसिर १६ मा चितवन छाडेर भारत भागेको खुलेको हो ।







