चितवन, पुष १५ –
बालकुमारी घटनाको विरोधमा एमाले निकट राष्ट्रिय युवासंघ नेपाल चितवन र अनेरास्ववियु चितवनले प्रदर्शन गरेका छन् ।
आइतबार भरतपुरको चौबिसकोठीमा गृहमन्त्रीको राजिनामा माग गर्दै युवासंघ र अनेरास्ववियु चितवनले बिरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीले ‘जनता मार्न पाईंदैन’, नालायक गृहमन्त्री राजिनामा दे’, ‘हत्यारा सरकार राजिनामा दे’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विरोध प्रदर्शन पछि मृतकको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।
कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीले गोलि चलाएको थियो । उक्त आन्दोलनमा दैलेख घर भएका २३ बर्षिय सुजन रावत र डोटी घर भएका २१ बर्षिय विरेन्द्र शाहको मृत्यु भएको थियो ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी समेत गरेका थिए ।

अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमाले चितवनका पार्टीका उपाध्यक्ष कमल पाठकले बोलेका थिए ।
प्रदर्शनमा नेकपा एमाले चितवनका पार्टी अध्यक्ष रामप्रसाद न्यौपाने, एमालेका युवा नेता अस्मिन घिमिरे, राष्ट्रिय युवासंघ नेपाल चितवनका अध्यक्ष झलक भट्ट लगायतका पार्टी, युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।








