भरतपुर, ५ पुस
अनेरास्ववियु चितवनले रत्ननगर नगरपालिका नगर कार्यपालिकाले निकालेको रोष्टर स्वयंसेवक शिक्षक सुचीकरणको लागि माग गरिएको सुचनामा संख्या नखुलाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला अध्यक्ष हरि आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ:- “रत्ननगर नगरपालिका नगर कार्यपालिका कार्यालयको मिति २०८०/०९/०३ को च.नं. ४७६७ को पत्र अनुसार रोष्टर स्वंयम सेवक शिक्षक सुचीकरणको लागि निवेदन माग गरिएको नगर शिक्षा अधिकारी द्वारा हस्ताक्षरित पत्रमा माग संख्या “केही” लेखिएको र प्रष्ट संख्या उल्लेख नभएको प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।”

“नगर शिक्षा अधिकारीमा देखिएको यस प्रकारको त्रुटिले कार्य क्षमता र कार्य कुशलता माथि नै प्रश्न चिन्ह खडा भएको छ । कुनै प्राविधिक त्रुटि नभएर नगर शिक्षा अधिकारीबाट भएको नियोजित, गैरजिम्मेवारीपन र निवेदन दिन इच्छुकहरू प्रति हुने चरम अन्यायको अनेरास्ववियु जिल्ला कमिटी चितवन खेद प्रकट गर्दछ । राजनीतिक अभिष्ट पुरा गर्न राजनैतिक आस्थाको आधारमा कार्यकर्ता भर्ति केन्द्र बनाउने दुस्साहस तथा दुश्प्रयास नगर्न र तत्कालै प्रस्ट रूपमा संख्या खुलाएर निश्पक्ष्य रूपमा पुनः सुचना जारी गर्न पनि अनुरोध गर्दछौं ।” विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियुले गैरजिम्मेवारीपन बाट श्रृजित समस्या समाधान गर्न सम्बन्धित पक्ष संग अनुरोध गर्दै समस्या समाधान नभएमा, शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरि अगाडि बढ्न खोज्ने प्रयास भएमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरू गरि जस्तोसुकै प्रतिकार तथा सशक्त सङ्घर्षमा उत्रन तयार एंव् बाध्य हुने र त्यसबाट श्रृजित परिस्थितिबारे नगर कार्यपालिका र नगर शिक्षा अधिकारी नै जिम्मेवार रहने चेतावनी समेत दिएको छ ।








