चितवन । श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनले भरतपुरमा बनाउँदै गरेको भवनका लागी उद्योग बाणिज्य संघ चितवनले एक लाख रुपैयाँ सहयोग गरेको छ ।
उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई भवन निर्माणका लागि एक लाख रुपैयाँको चेक बुधवार दिउँसो हस्तान्तरण गरेका हुन् । पत्रकारहरुको भवनका लागि संघका तर्फबाट संस्थागत सहयोग गरिएको भन्दै अध्यक्ष श्रेष्ठले चितवनको पत्रकारिता क्षेत्रको विकासमा भवनले अझैं ठूलो टेवा पुग्ने विश्वास ब्यक्त गरे ।
प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चितवनको आर्थिक क्षेत्रमा सधै अग्रणी संस्थाका रुपमा नेतृत्व गरिरहेको उद्योग बाणिज्य संघको सहयोगले खास अर्थ राख्ने भन्दै संघप्रति हार्दिक आभार ब्यक्त गरे । उनले संघको सहयोगले भवन निर्माणमा ठूलो टेवा पुगेको महसुस आफूहरुले गरेको भन्दै भवन निर्माणले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा थप मद्दत गर्ने बताए ।
सो अवसरमा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जीवि सुवेदी, संघका प्रमुख कार्यकारी अधिकृत निल केसी, पत्रकार महासंघ चितवनका सल्लाहाकार तिलकराम रिमाल, प्रेस चौतारी केन्द्रीय निर्वाचन कमिटीका उपाध्यक्ष नवराज ढकाल लगायतको उपस्थिती रहेको थियो ।
चितवनमा रहेर संगठनको हरेक गतिविधीमा सक्रिय रहेर काम गरेकी परियारको सहयोगले संगठनलाई थप उर्जा मिलेको बताए । चितवनको भरतपुर–११ बसेनीमा समाजसेवी केशव कार्कीले प्रदान गरेको ९ धुर जग्गामा चौतारी चितवनको भवनका काम धमाधम भैरहेको छ । भवनको दोस्रो तलाको ढलान गरिसकिएको छ ।
पहिलो तलाको काम फिनिसिङ्ग गर्ने काम सुरु भएको छ । भवनको पहिलो तलामा कार्यालय कक्ष, दोस्रोमा हल र तेस्रो तलामा आवासिय कोठाहरू रहनेछन् । भवनको लागत १ करोड ५० लाख अनुमान गरिएको छ ।







