– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर ८ –
लामो समयदेखि अलपत्र बनि काँसघारीमा परिणत भएको चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय त्रिकेट रंगशालामा सरसफाइ सुरु गरिएको छ । आज भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको हो ।
चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र हुँदा अहिले काँसघारीले भरिएको छ ।
३ अर्ब लागत अनुमान गरी जनस्तरबाट सहयोग उठाएर निर्माण गर्ने गरी धुर्मुस सुन्तली फाउण्डेशनले २०७५ सालमा क्रिकेट रंगशाला निर्माणको थालनी गरेको थियो । ५० करोडभन्दा बढी रकम खर्च भइसकेको, १८ करोड ऋण रहेको र थप सहयोग जुट्न नसकेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकालाई रंगशालाको जिम्मेवारी सुम्पेर २०७८ पुषमा कामबाट हात झिक्यो । त्यस यता रंगशाला निर्माणको काम अघि बढ्न सकेको छैन ।
अहिले नेपाल सरकारले उक्त रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर अघि बढाउने निर्णय गरेको छ । त्यसअघि बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सहकार्य गरी रंगशाला बनाउने निर्णय गरेका थिए । सरकारका तीन वटै निकायले रंगशाला निर्माणमा चासो देखाएपछि अलपत्र परेको रंगशालामा सरसफाइ अभियान सुरु गरिएको छ । आजको सरसफाइमा स्थानीय, विद्यार्थी, सामाजिक अभियान्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

आजको सरसफाइ अभियनमा बोल्दै भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेकाले अब रंगशाला बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरिन् । उनले राष्ट्रिय गौरवमा परेपछि अब बजेट अभाव नहुने र रंगशाला निर्माणलाई तीव्रता दिन महानगरपालिकाले आफ्नोतर्फबाट सम्पूर्ण शक्ति लगाउने बताइन् ।
बागमती प्रदेशका पूर्व मन्त्रि एवम् रंगशाला निर्माणका लागि लगाइएको महायज्ञका संयोजक विजय सुवेदीले रंगशाला निर्माणमा धुर्मुस सुन्तलीको योगदानलाई सम्झँदै यस रंगशाला निर्माणमा लागेको ऋण तिर्ने गरी अघि बढ्नुपर्ने धारणा राखे । उनले अब ती व्यावसायीको ऋण तिर्दै रंगशाला निर्माणलाई अघि बढाउइनुपर्ने बताए ।

भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सरकारले राष्ट्रिय गौरवमा राखेपछि अब हामी स्थानीय सरकार र स्थानीयहरुले पनि यसलाई आफ्नो सम्झेर सहयोग गर्नुपर्ने बताए ।
बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले निर्माण सँगसँगै सञ्चालनमा ल्याउने गरी काम गरिनु पर्ने बताए । उनले निर्माण पनि भइरहने विभिन्न खेलकुद प्रतियोगिता पनि भइरहने गरी काम अघि बढाउनुपर्ने धारणा राखे ।
स्थानीयहरुले पनि अब रंगशलाला बन्नेमा आफूहरु ढुक्क बनेको प्रतिक्रिया दिएका छन् ।







