कास्की कात्तिक १३,
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा लगानी रहेको भनेर बदनाम गर्न खोजिएको गुनासो गरेका छन् ३ वर्ष अगाडिको भिडियोलाई अहिले फिजाएर अफवाह फैलाउन खोजिएको उनले आरोप लगाए ।
गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोहलाई सोमवार पोखरामा सम्बोधन गर्दै ओलीले नेपालले आफ्नो नक्सा जारी गरेको विरोधमा भारतीय जी टीटीले बनाएको अनर्गल भिडियो शेयर गरिएको बताएका हुन् । एमालेका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका दुर्गा प्रसाईंले जी टीभीको पुरानो भिडियोलाई आधार बनाएर ओलीले कम्बोडियाको कम्पनीमा लगानी गरेको आरोप लगाएका थिए ।
‘नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय जी टीभीले केही अनर्गल प्रचार गर्यो । कम्बोडियाको दूरसञ्चार कम्पनीमा ओलीले ३ हजार करोड लगानी गरेको छ भनेर । पछि उनीहरूले त्यो कुरा सच्याएर माफी मागेपछि मैले उनीहरूलाई अन्तर्वार्ता दिएको हुँ,’ ओलीले भने, ‘३ वर्षअघि प्रचार गरेर सच्चाइसकेको भिडियो अहिले आएर नेपालमा हल्ला फिँजाएका छन् । ओलीको नाममा सिमरामा २७ विघा जमिन रहेको हल्ला चलाए, गठ्ठाघरमा ३७ रोपनी लिएको भनेर हल्ला चलाए । स्विस बैंकमा लगेर ६० करोड छ भनेर हल्ला चलाए ।’
एमालेलाई बदनाम गर्ने रोडम्यापअनुसार कम्बोडियाको कुरा ल्याइएको ओलीले बताए । ‘कम्बोडियामा ३ हजार करोड राखेको छु भन्ने पत्ता लगाउनेलाई त्यसमा १ हजार रुपैयाँ थपेर दिन्छु, त्योभन्दा धेरै दिनलाई मसँग पैसा छैन,’ उनले भने ।