काठमाडौ, ५ भदौ
त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क तोकेपछि विद्यार्थी आक्रोशित भएका छन् ।
उनीहरूले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ति जनाएका हुन् । केन्द्रीय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको थियो । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६ सय रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी सात सय रुपैयाँ, एक वर्ष सदस्यता बन्न एक हजार रुपैयाँ र परिचयपत्र शुल्क एक सय गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रीय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ ।
विद्यार्थीहरुका अनुसार पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रूपमा विपन्न विद्यार्थी मर्कामा परेको बताए ।
कतिपय विद्यार्थीहरू कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगुलगायतका विकट जिल्लाहरूबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने समेत बताए ।