चितवन, २ भदौ
भरतपुरमा आरम्भ कलेज सञ्चालनमा आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गर्दै भरतपुर ११ को नहरचोकमा यस बर्षदेखि कलेज सञ्चालनमा आएको हो । कलेजले यस बर्षदेखि स्नातक तहका बिआइएम र बिएचएम अध्यापन गराउने आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ ।
दुवै संकायको अध्यापन चार बर्षको हुने कलेजका अध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिनुभयो । कलेजले व्यवहारिक,सैद्धान्तिक तथा विश्वव्यापिकरणका लागि चाहिने आधारभूत शिक्षा प्रणालीलाई जोड दिँदै कक्षा संचालन गर्न लागेको उहाँले बताउनुभयो ।
बिआइएम र बिएचएम संकायका कार्यक्रमबाट प्रविधि र होटल व्यवस्थापनमा विद्यार्थीहरुलाई पूर्ण रुपमा योग्य,सक्षम र सफल बनाउने विश्वास कलेजले लिएको कलेजका प्रिन्सिपल सुरज सिवाकोटीले बताउनुभयो । उहाँका अनुसार कलेजमा विद्यार्थी अनुकुल वातावरणमा अध्यापन गराइने छ ।
कलेजले दुवै संकायमा ६६/६६ जना विद्यार्थी भर्ना गर्न पाउनेगरी सम्बन्धन प्राप्त गरेको छ । चितवन र नवलपुरलाई लक्षित गर्दै संचालन गरिएको यस कलेजले विद्यार्थीका लागि गाडीको समेत व्यवस्था गरेको छ । यहाँ पढ्ने विद्यार्थीहरुका लागि पहिलो बर्ष १ करोड ३२ लाख बराबरको छात्रबृत्ति प्रदान गर्ने कलेजले पत्रकार सम्मेलन मार्फत घोषणा गरेको छ ।