चितवन, साउन २७
नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सीप र क्षमतालाई राष्ट्रको विकासमा खर्चिन युवाहरुलाई अपिल गर्नुभएको छ । अन्तर्राष्ट्रिय युवा दिवस २०२३ को अवसर पारेर शनिबार चितवनमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विदेश जाने र विदेशमा रहेको सम्पूर्ण युवाहरुलाई आफ्नो सीप र क्षमता राष्ट्रको विकासमा खर्चिन अनुरोध गर्नुभएको हो ।
‘विस्तारै देशले नयाँ गति लिँदै छ । देशभित्र र देश बाहिर रहेका लाखौँ युवालाई आफ्नो सृजना र क्षमतालाई राष्ट्रको पक्षमा राष्ट्रको विकासमा र देशभित्र नै विकासको नयाँ गति पैदा गर्नको लागि अपिल गर्न चाहन्छु,’–उहाँले भन्नुभयो । उहाँले श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउन सरकार लागिपरेको बताउनुभयो ।
‘हिजो मात्रै सिंहदरबारमा ठुलो भेला गराएर छलफल गराएको थिए । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समाधान कसरी गर्ने, देशभित्रको श्रम बजारलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको छ,’उहाँले भन्नुभयो ‘यसले युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । सम्पूर्ण युवा लागे नेपालले आउने दिनहरुमा कोल्टे फेर्ने विश्वास समेत राखे । कृषि, पर्यटन, उद्योग र पूर्वाधारको विकासमा केन्द्रित रहेर सरकारले काम गरिरहेको बताउनुभयो ।
उहाँले देशभित्र युवालाई रोक्न चुनौती रहेको भन्दै उपयुक्त रोजगारीका लागि सरकार लागिपरेको बताउनुभयो । नेपालको कृषिको विकासका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग समेत छलफल भएको उहाँले जानकारी दिनुभयो । ‘नेपालको कृषि क्षेत्रलाई कसरी अगाडि बढ्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग भारत भ्रमणका क्रममा कुरा भएको छ । त्यसको अध्ययनका लागि एउटा विज्ञ टोलीलाई भारत पठाउँदै छौँ’–उहाँले भन्नुभयो । कृषिको विकासका लागि मल कारखाना समेत खोल्ने तयारीमा रहेको दाहालले बताउनुभयो ।
नेपालले बंगलादेशसंग विद्युत व्यापारको सम्झौता गरेको उहाँले बताउनुभयो । भारतको भूमि हुँदै नेपालको विद्युत बंगलादेश पठाउने सहमति भएको उनले खुलासा गर्नुभयो । यसको घोषणा छिट्टै काठमाण्डौँमा गर्ने तयारी रहेको उहाँले बताउनुभयो । कर्णालीको चिसापानी र बुढीगण्डकी विद्युत अयोजना छिट्टै अगाडि बढाउने उहाँले बताउनुभयो । छिट्टै चीन सरकारसँग पनि विद्युत व्यापारको विषयमा छलफल गरिने उहाँले बताउनुभयो । ‘म छिट्टै चीन भ्रमणमा जाँदै छु । रसुवा नाकाबाट क्रस विद्युत मिटर लाईनको प्रस्ताव अगाडि बढाउँछु,’ उहाँले भन्नुभयो ‘यसले यता उत्पादन बढी हुँदा निर्यात गर्ने र कमी हुँदा आयात गर्न सहज हुनेछ ।’ चीन भ्रमण पशुपालनसँगै भौतिक पूर्वाधारको विकासमा बढी केन्द्रित हुने उहाँले बताउनुभयो।







