२२ साउन, चितवन
नेकपा एमालेका पूर्वी चितवनबाट प्रतिनिधीत्व गर्ने जनप्रतिनिधी तथा नेताहरुले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारी साधनलाई नारायणगढसम्म नै जान दिन माग गरेका छन् ।
आज सोमवार जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै एमाले नेताहरुले पूर्वी चितवनबाट आउने यात्रुवाहक सवारी साधनलाई भरतपुरको केन्द्रीय वसपार्कमा नै रोक्ने र त्यहाँबाट अटो वा म्याजिकमा बजार, अस्पताल तथा सरकारी कार्यालयमा जानुपर्ने बाध्यता रहेको भन्दै त्यसलाई सच्चाउन माग गरेका छन् ।
पूर्वी चितवनबाट आएका जनतालाई बसपार्कमा झारेर नियतवस दुःख दिइएकोले तत्कालै नारायणगढसम्म यात्रुवाहक बसलाई जानदिनुपर्ने माग एमालेको छ । साथैं, एमालेले केन्द्रीय वसपार्कमा झरेका यात्रुलाई म्याजिक र अटोले मनपरी ढंगले ठगेको भन्दैं यो मर्का सहन पूर्वी चितवनवासी तयार नभएको चितवन क्षेत्र नं. १ का प्रदेश सांसद एवम् एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए । एमाले चितवनका उपाध्यक्ष कमलराज पाठकले एउटै जिल्लामा भएर पनि भरतपुर आउँदा पूर्वी चितवनवासी माथि दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार भएकोले यसलाई यथाश्रीघ छिटो सच्चाउन माग गरे ।
‘खैरहनीबाट भरतपुर आउँदा बसमा जम्मा ५० रुपैयाँ तिनुपर्छ, बसपार्कबाट बजार आएको अटोले ३ सय लिन्छ, फेरि फर्किदा ३ सय लिन्छ, यहाँका अटो र म्याजिक पोस्ने काम गरियो’ उपाध्यक्ष पाठकले भने, ‘म्याजिकले पनि उत्तिकै दुःख दिएको छ, बालवच्चा, वृद्धवृद्धा र अशक्तहरुलाई निकै समस्या भएको छ ।’ नारायणगढ गोन्द्राङ सडक विस्तारका लागि बजारमा सवारी चाप परेको भन्दैं गत बर्षको मंसिरदेखि पश्चिम चितवन र पूर्वी चितवन भएर आउने सवारीलाई नारायणगढ बजार प्रवेश गर्न दिइएको छैन ।
यस्तै, एमालेले जिल्लामा मल, बीउ र कृषि सामाग्रीको अभाव भएकोले किसानका जल्लाबल्दा समस्यामा सरकार उदासिन भएको आरोप लगाएको छ । जिल्लामा डेंगु र आँखा पाक्ने रोग फैलिएकोले यसको नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सरकारी संयन्त्र चुकेको एमालेको निष्र्कष छ । एमालेले बुझाएको ज्ञापनपत्रमा सिचाईंको अभावले साउन महिना सकिन लाग्दा पनि पश्चिम चितवनका किसानहरुले खेप रोप्न अझै नसकेकोले खगेरी सिचाईं र नारायणी लिफ्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गरेको छ ।
जनताको दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी ढंगले बढाएर जिल्लामा कालो बजारी निकै मौलाउँदै गएकोले त्यसको अनुगमन र नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई एमालेले आग्रह गरेको छ । साथैं, सुकुम्वासीहरुलाई लालपूर्जा वितरण गर्ने विषयलाई सरकारले आलटाल गर्न थालेकोले भूमिहिन सुकुम्वासी तथा अव्यवस्थिच बसोवासीहरुलाई लालपूर्जा वितरण गर्न एमालेले ज्ञापनपत्र मार्फत सरकारसँग माग गरेको छ ।







