चितवन, असार ११ –
माडी नगरपालिकाले ९६ करोड ६९ लाख २ हजार ४२७ रुपैयाँको बजेट ल्याएको छ ।
नगर प्रमुख तारा कुमारी काजी महतोले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिलो प्राथमिकता कृषिलाई राखेकी छन् ।
‘व्यवसायीक कृषि, आत्मनिर्भर माडी’ भन्ने मुल मन्त्रसहित नगरपालिकाले सिँचाई अन्तरगत साना, मझौला र ठूला बोरिङ निर्माण, कुलो लाइनिङ तथा भूमिगत पाइप लाइनिङको निर्माण तथा विस्तारलाई प्राथमिकता दिइएको छ । नगरले विदेशबाट फर्किएका र बेरोजगार युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गर्न युवा लक्षित स्वरोजगार कृषि कार्यक्रमहरु संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । नगरपालिकाले पशु र मत्स्यजन्य उत्पादन, पर्यटन, युवा लक्षित कार्यक्रम, खानेपानीलाई प्राथमिकतामा राखेर कार्यक्रम निर्माण गरेको छ ।
संघीय सरकारबाट अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट ५८ करोड ९० लाख ९ हजार र प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरणबाट १६ करोड २९ लाख ७३ हजार र नगरको आन्तरिक आम्दानी १५ करोड ९ लाख २० हजार रुपैयाँ प्रक्षेपण गरिएको नगर उपप्रमुख खेल खेमप्रसाद महतोले जानकारी दिए ।