चितवन, १ असार
चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेको नेतृत्व र पहलमा जनश्रमदानबाट सुरु भएको रामनगर खानेपानी आयोजनाको असार ५ गते उद्घाटन गरिने भएको छ । आयोजनाको उद्घाटन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रविसहित धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ आउने भएका छन् ।
जुगेडी माथिको खहरे खोलाबाट जनश्रमदान मार्फत पाइप विछ्याएर रामनगरसम्म खानेपानी ल्याइएको हो । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा चितवन २ बाट निर्वाचित हुने वित्तिकै रविले रामनगरमा खानेपानी ल्याउने अभियानको सुरुवात गरेका थिए । सर्वाेच्च अदालतको फैसलाले उनको सांसद पद नै खारेज भएपछि खानेपानीको काम रोकिएको थियो ।
उपनिर्वाचनबाट पुनः निर्वाचित भएपछि उनले १०० दिनभित्र रामनगरमा खानेपानी ल्याउने उद्घोष गरेका थिए । निर्वाचित भएको दुई महिना नपुग्दै खानेपानी आयोजनाको उद्घाटन गर्न लागिएको हो । जनश्रमदान जुटाएरै धरानमा आफ्ना जनतालाई खानेपानीको सुविधा दिएका हर्क साम्पाङलाई निमन्त्रणा गरिएको रवि लामिछानेका स्वकिय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई पनि निमन्त्रणा गरिएको सिग्देलले बताए । रामनगर भरतपुर महानगरभित्रै पर्छ । रामनगर, ठिमुरा, देवघाट, जुगेडी र भतेरीमा खानेपानीको दिर्घकालिन व्यवस्थाका लागि खानेपानी आयोजनाको सुरुवात गरिएको सिग्देलको भनाइ छ ।







