चितवन, बैशाख १८ –
नारायणी नदी किनारमा बनाइएका अवैध संरचना स्थानीयले आफै भत्काउन थालेका छन् । भरतपुर महानगरपालिकाले आजदेखि अवैध संरचना भत्काउने सूचना जारी गरेपछि त्यस्ता संरचना हटाउन स्थानीयहरु आफै लागेका हुन् ।
नारायणी किनारको पुलचोक नजिकका तीन वटा घरले आज अवैध संरचना भत्काउन थालेका हुन् । अवैध संरचनाको निरीक्षण गरी हटाउनका लागि महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकिय अधिकृत नरेन्द्रकुमार राना, भरतपुर १ का वडाध्यक्ष एवम् अवैध संरचना हटाउने समितिका संयोजक केशव कर्माचार्यलगायतको टोली पुगेको थियो ।
महानगरले पछिल्लो समय अवैध संरचना भत्काउन ७ दिने अल्टिमेटम दिएको थियो । महानगर प्रमुख दाहालले महानगरका २९ वटै वडाका अवैध संरचना हटाइने बताएकी छन् ।
अवैध संरचना आफै भत्काउन लागेकामा खुसी लागेको भन्दै उनले अन्य ठाउँमा पनि आफै नभत्काए बल प्रयोग गरिने बताइन् । महानगरलाई व्यवस्थित बनाउनका लागि अवैध संरचना हटाउने अभियान थालिएको उनको भनाइ छ ।