काठमाडाैं चैत २३,
नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर २ का सभापति रवि लामिछानेले झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।
रविकै गल्तीका कारण चैत–वैशाखको मौसममा चितवनका जनताले फेरि भोट हाल्नुपर्ने अवस्था आएको उनले टिप्पणी गरे ।
बिहीवार चितवनमा आयोजित चुनावी कार्यक्रममा नेता बास्कोटाले रविको नाम नलिई झुटो बोलेर र झुटो विवरण पेश गरेर राजनीतिमा आएको व्यक्तिले उन्मुक्ति नपाउने बताए ।
‘एमालेलाई नयाँ कुरा सिकाउने रे, पुरानाले केही गरेनन् रे ! मदनकृष्ण र हरिवंशको ‘हाम्री आमा सारै नै बाठी छन् ….,’ भन्ने गीत जसरी भोट पट्याएर लगे । अहिले त कांग्रेस पनि जागेको रहेछ । ब्युँझेछ, राम्रो कुरा,’ बास्कोटाले भने, ‘बाघको छालामा स्यालको रजाईं म देख्न सक्दिनँ, तपाईंहरू सक्नुहुन्छ ?’
बास्कोटाले नसा च्यातिने गरी चिच्चाएर वा हुलहुज्जत गरेर कसैले कानूनी त्रुटिबाट उन्मुक्ति नपाउने बताए ।
‘एकजना निकै जान्ने छु भन्छन् । के जान्ने रहेछन् त भनेर विचार गरें, एउटा कुरा खुब जानेका रहेछन्, झुटो बोल्न । झुटो बोल्न जानेकोमा पीएचडी उपाधि दिनुस्, अरूमा छैन क्यारे । झुटो बोलेको हुनाले, बोलेको मात्र होइन कागज नै पेश गरेको प्रमाणित र पुष्टि भएको हुनाले, यस्तो तातो ठाउँमा, मान्छे घरभित्र बस्नुपर्ने ठाउँमा फेरि भोट माग्न जाने अवस्था बनाए । यो कांग्रेस, एमाले, माओवादीले बनाएको हो कि अरू कसैले ?’ बास्कोटाले प्रश्न गरे ।
बास्कोटाले कसैको कमजोरीका कारण फेरि तीन महिनामा उपनिर्वाचन गर्नुपर्ने अवस्था आउने टिप्पणी गरे । ‘नागरिकता परित्याग गरेको निस्सा पेश नगरी त गाह्रो हुन्छ, सरकारी कागजात गलत बनाएको भए के हुन्छ ? कहाँ जानुपर्छ ? संविधानभन्दा माथि कोही छ ? हुलहुज्जत गरेर उन्मुक्ति हुन्छ ? नसाको अप्रेसन गर्नेगरी चिच्याएका छन् । नसा फुल्ने गरी कराएर केही हुँदैन । कानूनतः गल्ती भएको हदसम्म कारवाही व्यहोर्नुपर्छ । फेरि ३ महिनामा चुनाव गर्ने ? मानिलिऔं (रवि)ले जिते रे, चितवन टेस्टट्युब बेबी उत्पादन गर्ने जस्तो प्रयोगशाला हो र पटक–पटक चुनाव गर्न ?’ उनले प्रश्न गरे ।






