काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७९/०८०को आठ महिनामा ४३ करोडको काजु आयात गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालु आवको आठ महिनामा ४३ करोड ५४ लाख ३९ हजार रुपैयाँको काजु आयात गरेको छ ।
नेपालले युनाइटेड अरब इमिरेट्स, भारत, मोजाम्बिक, कतार, भियतनाम, चीन, नाइजेरियाबाट काजु आयात गर्दै आएको छ ।
पछिल्लो आठ महिनामा भारतबाट एक करोड चार लाख १२ हजार, मोजाम्बिकबाट २५६ रुपैयाँ, कतारबाट ६ हजार, युनाइटेड अरब इमिरेट्सबाट पाँच हजार, भियतनामबाट एक करोड २० लाख ५६ हजार रुपैयाँको बोक्रासहितको काजु आयात भएको छ ।
यस्तै, चीनबाट ३९ लाख ९९ हजार, भारतबाट ११ करोड ७३ लाख ३६ हजार, मोजाम्बिकबाट १२ करोड ४६ लाख ९९ हजार, नाइजेरियाबाट सात करोड ४३ लाख ३६ हजार र भियतनामबाट ९ करोड २५ लाख ९० हजार रुपैयाँको बोक्राबिनाको काजु आयात भएको छ । उक्त काजु आयातबाट सरकारले २१ करोड ६४ लाख २ हजार राजस्व संकलन गरेको छ ।














