काठमाडाैं फागुन २३,
एजेन्सी
इराकमा सोमवार राति भएका बम विस्फोटमा परेर ५ जनाको ज्यान गएको र अरु केही घाइते भएका बताइएको छ ।
इराकको पूर्वी प्रान्त दियालामा बम विस्फोट भएको यहाँको सुरक्षा स्रोतले जानकारी दिएको छ । सो विस्फोटमा परेर ५ जनाको ज्यान गएको र अरु ४ जना घाइते भएका छन् ।
दियाला प्रान्तीय प्रहरीका मेजर अला अल–साउदीले दिएको जानकारीअनुसार दियालाको माक्दियान नगरको एक सडकमा बम राखिएको थियो । सडक किनारामा कुनै अज्ञात समूहले बम राखेको र सो बम विस्फोट हुँदा गुडिरहेको कारमा रहेका ५ जना सर्वसाधारणको ज्यान गएको हो ।
सो सडक भएर हिँडिरहेका बटुवा ४ जना घाइते भएका पनि उनले जानकारी दिए । यस विस्फोटको जिम्मेवारी कसैले लिएको छैन ।
इराकी प्रहरीले यस विषयमा अनुसन्धान थालेको जनाएको छ । पछिल्लो समयमा इराकमा इस्लामिक स्टेट्स समूह यस्ता आतंककारी आक्रमणहरूमा संलग्न रही आएकाले प्रहरीले सोही समूहले यो बम विस्फोट गराएको अनुमान गरेको छ ।















