काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले संघीयताको मर्मअनुरुप स्थानीय तहसम्म अनुभुति हुनेगरी कानून परिमार्जन गर्न लागेको बताएकी छन ।आइतबार राष्ट्रिय समाचार समितिको ६२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले सरोकारवालाहरुसँग सहकार्य गर्दै संघीयताको मर्म र भावनाअनुरुप स्थानीय तहसम्म नै अनुभुति हुनेगरी कानूनहरुमा संशोधन गरी नयाँ कानून बनाउने तयारी गरेको बताइन् ।
उनले सरकारले आम सञ्चारसँग सम्बन्धित ऐन, कानूनहरुलाई संशोधन, परिमार्जन र आवश्यक नयाँ कानून बनाएर सञ्चार क्षेत्रका समसामयीक सुधार गर्ने बताइन् । मन्त्री शर्माले पछिल्लो समय समाचार माध्यमहरुका गलत समाचार प्रवाहलाई नियन्त्रण गर्न आवश्यक रहेको बताइन् ।
उनले पछिल्लो समय सूचना प्रविधि र रुचिमा आएको परिवर्तनलाई सम्बोधन गर्न खोजमूलक समाचार संकलन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन् । उनले संस्थामा उपलब्ध स्रोत साधनको अधिकतम सदुपयोग गरी आर्थिक रुपमा मितव्ययी बन्ने र भौतिक सम्पतीको संरक्षण, संवद्र्धनलाई प्राथमिकता दिएर आम्दानीका अन्य स्रोतहरु खोज्न सुझाव दिइन् ।








