काठमाडौं माघ २५
प्रतिनिधि सभाको निमायवली मस्यौदा समितिकोमा महाभियोग प्रस्ताव र यसको समयमसीमाको विषयले प्रवेश पाएको छ । समितिको बिहीबार बस्ने बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको महाभियोग तीन महिना र प्रधानन्यायाधीश, न्याय परिषद्का सदस्य र संवैधानिक निकायका पदाधिकारीविरुद्धको महाभियोग प्रस्ताव पाँच महिनाभित्र टुंगो लगाइसक्नुपर्ने विषयबारे छलफल हुनेछ ।
समितिका सदस्य तथा माओवादी सांसद शक्ति बस्नेतका अनुसार बिहीबार बस्ने समितिको बैठकमा यी दुई विषयमा छलफल हुनेछ । उनले बुधबारको बैठकमा विषयले प्रवेश पाएको तर छलफल भने बिहीबार हुने जानकारी दिए ।
प्रस्ताव पारित भएमा बढीमा पाँच महिनाभित्र महाभियोग प्रस्तावको टुंगो लाग्ने छ ।
“छलफल सुरु भइसकेको छैन । भोलिको बैठकमा हामी छलफल गर्नेछौँ । तर, विषय प्रवेश भएको छ,” उनले भने ।
समितिको बैठकमा स्वार्थ बाझिने संसदीय समितिहरूमा प्रतिनिधि सभा सदस्यहरू बस्न नपाउने विषयमा पनि छलफल भएको थियो । प्रतिनिधि सभाको नयाँ नियमावली बनाउन समितिमा अहिले छलफल चलिरहेको छ ।








