काठमाडौं, माघ ७-
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रतिनिधिसभामा पहिलो सम्बोधन गरेकी छन् ।
उपसभामुखको लागि पार्टीको तर्फबाट उम्मेदवार रहेकी इन्दिरा रानामगरको प्रस्तावकको रुपमा सम्बोधन गर्दै गौतमले जसरी जाडो याम सकिएर वसन्त ऋतुमा पालुवा पलाउँछन् त्यसैगरी राजनीतिमा पनि वसन्त ऋतु सुरुवात भइसकेको बताइन् ।
‘छोटा दिनहरु बिस्तारै लामा हुँदैछन्, जाडो र तुसारोले बोट बिरुवा उजाड छन्, तर छिट्टै वसन्त ऋतु सुरु भएर पालुवा पलाउँदैछ । यो रोस्टमबाट हेर्दा हाम्रो संसदमा भने वसन्त ऋतु सुरु भएर पालुवा पलाइरहेको देखेको छु, यो निकै सुन्दर दृष्य हो’, गौतमले भनिन् ।
उपसभामुखको लागि सिमान्तकृत समुदायका दुई जना महिलाको प्रतिष्पर्धा हुनुलाई गौतमले लोकतन्त्र सुदृढ बन्दै गएको रुपमा लिएको बताइन् । आम मानिसले मुल धारको राजनीतिमा आफूलाई सहभागी गराउन सकुन् भनेर आफूले पहल गरिरहने सोबिता गौतमको भनाई छ ।








