चितवन । स्वदेशमै उद्यमी बन्न चाहने युवालाई आर्थिक र परामर्श सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । नेपाली युवा उद्यमी मञ्च चितवनले चितवन महोत्सव परिसरमा आयोजना गरेको मेड इन नेपाल एक्स्पोमा भएको छलफल कार्यक्रममा सहभागीले यस्तो बताएका हुन् । लगानीको सुरक्षाको प्रत्याभूति भएपछि युवाहरु स्वदेशमै लगानी गरी उद्यमशिलताको बाटोमा लाग्ने उनीहरुको भनाइ थियो ।
उद्यमीलाई वित्तिय, सल्लाह र परामर्श सहयोगको उपलब्धता सम्बन्धि छलफल कार्यक्रममा सहभागी भएका बोस्टन इन्टरनेशनल कलेजको बिआईसी स्टार्टअप प्रमुख प्रेम गैरेले युवालाई उद्यमी बन्नका लागि उत्साहित बनाउनुपर्नेमा त्यसो हुन नसकेको बताए । लगानी गरिसकेपछि पनि राम्रो आम्दानी र लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गराउनुपर्ने उनी बताउँछन् ।
सरकारको स्पष्ट योजना बिना नीजि क्षेत्रले मात्रै युवालाई रोक्न नसक्ने उनको भनाइ छ । उनका अनुसार बोस्टन कलेजले स्थापना गरेको इन्क्युबेशन सेन्टरले विद्यार्थीलाई उद्यमी बनाउन माहोल बनाएको छ । कलेजका ६० भन्दा बढी विद्यार्थीले विभिन्न व्यापारीक क्षेत्रमा अध्ययन गरिरहेको उनले बताए ।
उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओलीले व्यवसायमा आइपर्ने सम्भावित चुनौतिलाई नकेलाई युवाहरु उद्योग व्यवसायमा प्रवेश गर्ने गरेको बताए । ‘प्रमुख कुरा मार्केट रिसर्च एकदमै कम छ । कुनै एउटा व्यवसायमा सफल भएको व्यक्तिको पछाडि अरु व्यक्तिहरु दौडिने प्रवृत्ति छ । युवाले सम्भावनाको अध्ययन गरेर नयाँ क्षेत्रमा हात हाल्नुपर्छ’, उनले भने ।
उद्योग वाणिज्य संघले व्यवसायीलाई विभिन्न कर र कानुनी प्रक्रियाको बारेमा तालिम दिँदै आएको उनी बताउँछन् । स्टार्टअप बिजनेशमा चुनौतिसँगै अवसर पनि रहेको भन्दै उनले युवालाई स्टार्टअप बिजनेशमा लगाउन सरकार र गैरसरकारी संस्थाले योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताए ।
सिद्धार्थ बैंक भरतपुरका शाखा प्रबन्धक सन्दीप बराकोटीले महिला उद्यमीलाई सरकारले अनुदानमा उपलब्ध गराउने ऋणको किस्ता तिर्ने समय बढाउनुपर्ने बताउँछन् । १५ लाख रुपैयाँ ऋण पाँच वर्षमा तिरिसक्नुपर्ने प्रावधान राख्दा महिनामै २८ हजारभन्दा बढी किस्ता तिर्नुपर्ने र त्यसले साना उद्यमीलाई धेरै भार पर्ने उनी बताउँछन् ।
युवा उद्यमी आफैमा विश्वस्त भई आफ्नो योजनाबारे स्पष्ट रुपमा राख्न सकेको अवस्थामा ऋण लिन कुनै समस्या नहुने उनको दाबी छ । हरेक बैंकले उद्योग व्यवसायमा लगानी गर्ने प्राथमिकता नै हुने भन्दै उनले व्यवसायीलाई गलत नजरले हेरेर बैंक अघि बढ्न नसक्ने बताए ।
‘बैंकले आर्थिक कारोबार मात्रै गर्दैन । उद्योग व्यवसायलाई कसरी निरन्तरता दिने र चुनौतीको सामना कसरी गर्ने भनेर उद्योगी व्यवसायीलाई तालिम पनि दिने गर्छ । हाम्रो बैंकले पनि उद्यमशीलताको विषयमा विज्ञता प्रदान गर्न गोष्ठी र सेमिनार जस्ता कार्यक्रम आयोजना गर्दै आएको छ’, उनले भने ।















