काठमाडौं, माघ २
कास्कीको पोखरामा हिजो भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आज (सोमबार) शोक बिदा दिइएको छ। त्यस्तै, सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ।
विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको हो ।
विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आज मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको जानकारी मन्त्रालयले दिएको छ।
हिजो बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराका लागि ६८ यात्रु र ४ चालक दलका सदस्यसहित उडेको यती एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका(१५ नयाँ गाउँस्थित सेती नदीको खोंचमा दुर्घटना भएको थियो। त्यसमध्ये ६९ जनाको शव फेला परिसकेको छ भने तीन जना अझै बेपत्ता छन् ।








