चितवन, २७ पुस –
आज बिहीबार २५ हजार भन्दा बढीले चितवन महोत्सव अवलोकन गरेका छन् । चितवन महोत्सवको टिकट व्यवस्थापन समितिका संयोजक राजन पियाले आज बेलुकीसम्म नै महोत्सवमा अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको भन्दै २५ हजार भन्दा बढी टिकट बिक्री भएको जानकारी दिए । महोत्सवमा बिहानभन्दा पनि दिउँसो र साँझपख दर्शकहरुको उपस्थिति बढी देखिएको पियाको भनाइ छ ।
महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले पुस ३० गते खेल पर्यटन सम्बन्धी गोष्ठी र सोही दिन बिहान साइकल ¥याली हुने जानकारी दिए । त्यस्तै, माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी हुने ओलीको भनाइ छ । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यसपटक मौरी र तोरी खेतीको प्रवद्र्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ ।
महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको ओलीले बताए । महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको उनले बताए । माघ ४ गतेसम्म सञ्चालन हुने चितवन महोत्सवमा ४५० वटा स्टल रहेकामा सबै स्टलको बीमा गरिएको ओलीको भनाइ छ ।
महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको छ भने बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको छ । महोत्सव स्थलको चौबीसै घण्टा सिसिटिभी क्यामेराबाट निगरानी भइरहेको ओलीको भनाइ छ । महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई ६० तथा विद्यार्थीलाई ३० रुपैयाँको टिकट व्यवस्था गरिएको ओलीले बताए ।
दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ ।






