चितवन, २६ पुस –
चितवन महोत्सवमा विस्तारै अवलोकनकर्ताहरुको उपस्थिति बाक्लिदै गएको उद्योग वाणिज्य संघ चितवनले जनाएको छ । आज मंगलबारमात्रै १५ हजार भन्दा बढीले महोत्सव अवलोकन गरेका चितवन महोत्सव टिकट व्यवस्थापन समिति संयोजक राजन पियाले जानकारी दिए । महोत्सवको सुरुआती दिनमै १५ हजार दर्शकले महोत्सव अवलोकन गर्नु भनेको महोत्सवका लागि शुभ संकेत भएको पियाले बताए ।
भोलि बुधबार सार्वजनिक बिदाको दिनसमेत परेकाले अवलोकनकर्ताको संख्या बढ्दै जाने उनको भनाइ छ । सार्वजनिक बिदाको दिनमा विद्यार्थी तथा कर्मचारीहरु महोत्सव अवलोकनका लागि आउने भन्दै उनले दश दिनसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख दर्शक पुग्ने दाबी गरे ।
नारायणगढको नारायणी नदी किनारमा हिजोदेखि सुरु भएको महोत्सवमा आजबाट सांस्कृतिक कार्यक्रम सुरु भएको छ । महोत्सवको सांस्कृतिक कार्यक्रममा हरेक दिन विशेष कलाकारहरुको उपस्थिति रहने सांस्कृतिक कार्यक्रम संयोजक नारायण प्रधानले बताए । आज भएको सांस्कृतिक कार्यक्रममा लाइभ ब्याण्ड प्रतियोगिता, एवं विभिन्न जातजातिको गीतमा नृत्य प्रस्तुत भएको प्रधानले जानकारी दिए ।
त्यस्तै, कार्यक्रममा राजा राजेन्द्र पोखरेलको हास्य प्रस्तुती एवं गायिका विन्दु परियारको प्रस्तुती रहेको प्रधानले बताए । बुधबारको सांस्कृतिक कार्यक्रम अन्तर्गत लाइभ ब्याण्ड प्रतियोगितासँगै विभिन्न जातजातिको मौलिक प्रस्तुती तथा चलचित्र तिम्रो मेरो साथका कलाकारहरु साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का र सन्दिद क्षेत्री तथा गायिका अस्मिता अधिकारीको प्रस्तुती रहने प्रधानको भनाइ छ ।
महोत्सव अन्तर्गत पुस २८ र २९ गते सेपाकताक्रो खेल, स्लो साइकल रेस प्रतियोगिता हुने महोत्सव प्रवद्र्धन समिति संयोजक राजेन्द्र ओलीले जानकारी दिए । त्यस्तै, पुस ३० गते खेल पर्यटन सम्बन्धी गोष्ठी र सोही दिन बिहान साइकल ¥याली हुने उनले बताए । माघ २ गते साहित्यिक गोष्ठी तथा माघ ३ गते कृषि सम्बन्धि गोष्ठी हुने ओलीको भनाइ छ ।
विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यसपटक मौरी र तोरी खेतीको प्रवद्र्धन गर्नेगरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ । चितवनमा तोरी खेतीतर्फ कृषकहरुलाई आकर्षित गर्नेगरी तोरीको जानकारी सहित चितवन महोत्सव प्रवेशद्वारासँगै तोरी बारी निर्माण गरेर त्यहाँ मौरीको मस्कट राखिएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवं महोत्सव मूल समिति संयोजक चुननारायण श्रेष्ठले जानकारी दिए । त्यस्तै महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीसहित विभिन्न सात वटा छुट्टाछुट्टै डोम राखिएको श्रेष्ठले बताए ।
महोत्सवमा औद्योगिक उत्पादनसँगै बाल उद्यान र रमणीय पार्कमा विभिन्न जंगली जनावरहरुसमेत राखिएको श्रेष्ठको भनाइ छ । महोत्सव अन्तर्गत पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको श्रेष्ठले बताए । महोत्सवको आन्तरिक सुरक्षा व्यवस्था निजी क्षेत्रलाई जिम्मा दिइएको भन्दै श्रेष्ठले बाह्य सुरक्षाका लागि स्थानीय प्रशासनसँग सहकार्य गरिएको बताए ।















