काठमाडौं, पुष १७-
नेपाल राष्ट्र बैंकले नोट जलाएर बनेको ब्रिकेट तथा स्रेडेड टुक्रा बिक्री गर्न सिलबन्दी दरभाउको आह्वान गरेको छ ।
राष्ट्र बैंकले आज आइतवार सार्वजनिक सूचना निकालेर झुत्रा र च्यातिएका नोटबाट तयार पारेको ब्रिकेट तथा स्रेडेड टुक्राहरू बिक्री गर्ने बताएको हो । राष्ट्र बैंकले वर्षमा दुई लाख ७५ हजार किलो ब्रिकेट बिक्री गर्न भन्दै राष्ट्र बैंकले सिलबन्दी दरभाउ प्रस्ताव आह्वान गरेको छ ।
ब्रिकेट खरिद गर्न इच्छुकले फागुन १ गतेसम्म राष्ट्र बैंकको मुख्य वा कुनै पनि प्रादेशिक कार्यालयमा प्रस्ताव बुझाउन सक्ने छन् ।
ब्रिकेट खरिदका लागि परेका प्रस्तावमा मूल्य प्रतिस्पर्धाको आधारमा बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले २०७८ भदौदेखि चलनचल्तीमा ल्याउन नमिल्ने झुत्रा र पुराना नोटलाई मेशिनबाट टुक्राएर ब्रिकेट बनाउन थालेको छ ।
मुख्य कार्यालय काठमाण्डौ र राष्ट्र बैंकका प्रादेशिक कार्यालयमा पुराना, च्यातिएका नोटबाट ब्रिकेट बनाइने गरेको राष्ट्र बैंकले जनाएको छ ।