काठमाडौं, मंसिर २१-
सरकारले गाडी, मोबाइल, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको छ।
पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ती सामग्रीको आयात फुकुवा गर्ने निर्णय गरेको हो।
विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो।
असार ३१ मा राजपत्रमा अर्को सूचना प्रकाशित गर्दै त्यसलाई भदौ १४ सम्म निरन्तरता दिइएको थियो।
अब भने व्यवसायीले सबै प्रकारका तयारी मदिरा, स्मार्टफोन, जिप, कार र भ्यान तथा मोटरसाइकल आयात गर्न पाउने छन्।
भदौ १५ गते राजपत्रमा अर्को सूचना निकाल्दै सरकारले १० मध्ये ६ वस्तुमा लगाएको प्रतिबन्ध खुला गर्दै चार वस्तुको प्रतिबन्धलाई असोज २८ सम्म लम्ब्याएको थियो। त्यसपछि अर्को सूचना जारी गरेर सरकारले मंसिर मसान्तसम्मको लागि लम्ब्याएको थियो।








