चितवन, मंसिर १० –
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक निर्वाचन प्रणालीतर्फ चितवनको पहिलो राजनीतिक दल बनेको छ। रवि लामिछाने नेतृत्वको उक्त पार्टीले चितवनका तीनवटै निर्वाचन क्षेत्रमा सबभन्दा बढी मत प्राप्त गरेको छ।
चितवन क्षेत्र नम्बर १ र २ मा प्रत्यक्षतर्फ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू विजयी भएका थिए। क्षेत्र नम्बर १ मा हरि ढकाल र २ मा रवि लामिछाने फराकिलो मतान्तरका साथ विजयी भएका थिए भने क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे विजयी भए।
लामिछानेको दल रास्वपा समानुपातिक प्रणालीतर्फ तीनवटै निर्वाचन क्षेत्रमा फराकिलो मतान्तरका साथ पहिलो बनेको छ। रास्वपाले सबै निर्वाचन क्षेत्रमा धेरै मत प्राप्त गर्दा विगतमा धेरै मत पाउने नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको मत निकै घटेको छ।
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा चितवनमा सबभन्दा ठूलो दल नेकपा एमाले बनेको थियो। कांग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो भएका थिए।















