चितवन, कात्तिक २९-
स्थानीय तह निर्वाचन होस् या संघीय निर्वाचनस चर्चामा रहिरहने जिल्ला हो चितवन । ‘हेवीवेट’ नेताको चुनावी क्षेत्र र त्यसमाथि विगतमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत जोडिएकाले यो क्षेत्र चर्चामा रहँदै आएको छ ।
आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड फेरि चितवन–३ बाट लड्ने बताइएकै बेला उनी एकाएक गोरखा–२ मा सरे । तर, चितवनको चुनावी नतिजालाई लिएर चौतर्फी कौतुहलता कायमै छ ।
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, राप्रपा नेता विक्रम पाण्डेदेखि कांग्रेस नेता तथा राज्यमन्त्री उमेश श्रेष्ठ र अन्य स्वतन्त्र उम्मेदवार कारण कसको पक्षमा नतिजा आउला भनेर चासो बढेको हो । दलहरुले आफ्नो पक्षमा नतिजा ल्याउन प्रचारप्रसारलाई तीव्रता दिइरहेकै बेला चितवनका मतदाता स्वयम् भने त्यति उत्साहित देखिँदैनन् ।
राजनीतिक दलमा आवद्ध भएकाहरु चुनाव प्रचारमा उम्मेदवारहरुसँगै निस्किए पनि आम मतदाता भने निर्वाचनप्रति खासै उत्साहित नभएको पाइएको हो । विगतमा कयौं निर्वाचन देखिसकेको बताउने उनीहरु ती निर्वाचनहरु औपचारिकतामा मात्र सीमित भएको बताउँछन् । आफूहरुको समस्या बुझिदिने र समाधानका लागि पहल गरिदिने नेता नभएको उनीहरुको गुनासो छ ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ र ३ का विभिन्न स्थानमा रातोपाटी टिम पुग्दा आफ्नै कर्ममा व्यस्त रहेका केही मतदातासँग संक्षिप्त कुराकानी गर्ने अवसर जुर्यो । उनीहरु जनता र नेताबीच दुरी बढ्दै गएको सुनाउँछन् ।
नेताहरु चुनावका बेलामात्र जनता खोज्दै आउने, अरु बेला केन्द्रमै सत्ताको लडाइँमा व्यस्त हुने गरेको मतदाताको बुझाइ छ । कालिका नगरपालिका–४ का रुद्रप्रसाद पौडेल आसन्न निर्वाचनमा युवा नेतृत्व छनौट गर्न चाहन्छन् । युवाहरु जोस, जाँगरले भरिएका हुने भन्दै देश विकासमा उनीहरुले निकै काम गर्न सक्ने पौडेलको भनाइ छ ।
संघर्ष गरेका भनेर बुढा–पुरानालाई धे पटक विश्वास गरियो तर खासै उपलब्धि भएन,’ उनी भन्छन्, ‘अब नयाँ पुस्तालाई जिताउनु पर्छ ।’ २०४६ सालबाट २०७९ सम्म देशलाई मुख्य दलका नेताहरुले मिलेर नेतृत्व देशको अवस्था परिवर्तन हुन नसकेको उनको ठम्याइ छ । त्यसैले पनि युवा पुस्ता खोज्नुपर्ने अवस्था आएको उनले बताए ।
कृषि कर्म गर्ने उनी समयमा मल, बिउ नपाउने समस्या भोग्दै आएको बताउँछन् । कालिकामा स्तरीय स्वास्थ्य सेवाको अभाव हुँदा भरतपुर नै धाउनुपर्ने बाध्यता रहेको उनको गुनासो छ । भरतपुर महानगरपालिका–११ की देउमाया आचार्यलाई चुनावी रौनकले छोएको छैन । उम्मेदवारहरु भोट माग्न घरघर आए पनि आफूलाई चुनावले अलिकति पनि नछोएको उनले बताइन् ।
चुनावमा जित्नेहरुले देशका लागि राम्रो काम गरिदिए हुन्थ्यो भन्ने उनको अपेक्षा छ । जनताको मन जितेर दुःखी र गरिब जनताको घरमा पुगिदिने, भोट माग्नमात्र नभइ जितेर गएपछि पनि नेताहरु गाउँ आउनु पर्ने उनको भनाइ छ ।
जनताका दुःख, पीडालाई सम्बोधन गर्ने खालको नेता उनी चाहन्छिन् । भोट माग्न आउँदा नेताहरुलाई आफ्ना कुरा, समस्याहरु सुनाए पनि जितेर गएपछि गाउँ नफर्किने गरेको उनको गुनासो छ । आसन्न निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्ने निर्णयमा पुगिसकेकी उनले अहिलेसम्म मनले खाएको उम्मेदवार नपाएको तर कसै न कसैलाई मत दिने बताइन् ।
भरतपुर–२ का पासाङ लामा छौटौं पटक मतदान गर्दै छन् । यस अघिसम्म पुराना नेतृत्वलाई मत दिएका उनी आगामी निर्वाचनमा मत फेर्ने सोचमा छन् । उम्मेदवारहरु घरदैलोमा आउँदै भोट मागिरहेको बताउने उनी आफ्ना समस्याहरु बुझिदिने नेतृत्व छान्ने तयारीमा छन् ।
पुराना नेताहरुले काम गर्न नसक्दा विकास र आफ्ना समस्याहरु जस्ताको तस्तै रहेको भन्दै उनले अब नयाँ पुस्तालाई जिताउने बताए । उनले भने, ‘पुराना नेताहरुले जितेर गएपछि देश नै भताभुङ्ग बनाए, अब त नयाँलाई रोज्ने निष्कर्षमा छु ।’
माडी नगरपालिका–७, जगन्नाथपुरका शिवराज बराल चुनावले आफूहरुलाई उत्साह नल्याएको बताउँछन् । ‘सिस्टम नै खराब छ, भोट दिएर पनि केही हुँदैन,’ उनले भने, ‘सबै दल आ–आफ्नै डम्फु बजाउने हुन्, जनताका लागि केही गर्ने होइनन् ।’
राजनीति गर्नेहरुले नैतिकताको कुरालाई बिर्सिएको उनको गुनासो छ । ‘राजनीतिमा त नैतिकता ठुलो कुरा हो नि,’ उनले भने, ‘अहिलेका नेतामा नैतिकता नै छैन, सिद्धान्तको कुरा छैन, फरक सिद्धान्त बोकेकाहरु पनि गठबन्धनमा गाँसिएका छन् ।’
नेताहरु चुनाव प्रचारका क्रममा व्यक्तिगत गाली गलौजमा उत्रिएको भन्दै उनले असन्तुष्टि जनाए । जनताका समस्या एकातिर छाडेर आफ्नो स्वार्थका लागि नेताहरु आपसमा झगडा गर्न थालेको उनको बुझाइ छ ।
स्थानीय स्तरमा रहेका समस्या सुनाउँदै उनले भने, ‘हाम्रो गाउँमा विद्यालयको कम्पाउन्ड छैन, धार्मिक महत्त्व भएको क्षेत्र भए पनि मन्दिर गतिलो छैन, नाला बनाउनुपर्ने छ, तटबन्धको कुरा छ, कसैले यस्ता कुरालाई चासो दिएका छैनन् ।’
माडी–७, कीर्तनपुरका लेखनाथ अधिकारी आसन्न निर्वाचनमा उम्मेदवार भएकाहरुको अहिलेसम्म आफूले अनुहार देख्न नपाएको बताउँछन् । जनताको दैनिक जीवनमा आइपर्ने समस्यालाई नेताहरुले प्राथमिकता नदिएको उनको गुनासो छ । ‘तपाईहरुले देखिहाल्नु भयो नि, हेर्नुस् त यो कच्ची बाटो १,’ उनले भने, ‘पिच गर्ने भनेर बेस हाले तर बीचमै अलपत्र बनाए, धुलो खाएर बस्नु परेको छ, उम्मेदवारहरु यो टोलमा आए तिनलाई बेस्सरी धुलो खुवाउने मन थियो, आएका छैनन् ।’
जनताका काम गरिदिने नेता हुन्थ्यो भने टोलटोल पुगेर भोट मागिरहनु पर्ने अवस्था नै आउँदैनथ्यो भन्ने उनको बुझाइ छ । उनले भने, ‘काम गर्नेलाई त जनताले खोजीखोजी भोट दिइहाल्छन् नि, भोट माग्दै हिँड्नु पर्छ र रु’ अहिले आफूले कुनै गतिलो उम्मेदवार नदेखेको उनले बताए ।
भरतपुर महानगरपालिका–२२ का इमानसिंह गुरुङ पनि राजनीतिक वातावरण देखेर निराश छन् । गरिब, सुकुमबासीलाई कसैले वास्ता नगरेको भन्दै उनले देशमा ठुलाठालुकै रजाई चलिरहेको बताए ।
‘भोट माग्न टोलतिर उम्मेदवारहरु आउने गरेका छन्, परैबाट नमस्कार गर्दै हिँड्छन्,’ उनले भने, ‘चुनावको बेलामा हामीसँग बोल्न नचाहने नेताले जितेर गइसकेपछि हामीलाई झन् के वास्ता गर्थे र रु’ विगतमा जितेर गएका नेताहरुलाई आफ्नो दैनिक जीवनमा आइपर्ने समस्या सुनाउन नपाएको र आफूहरुजस्ताको समस्या समाधानका लागि नेताहरुले पहल नगरेको उनको दुखेसो छ । -रातोपाटीबाट








