काठमाडौं, कात्तिक २६-
मसाज वा मालिस आराम दिने थेरापी हो । जसमा शरीरको मांसपेशी र छालालाई हातले स्पर्श गरेर आराम दिने गरिन्छ । एउटा व्यावसायिक मसाज थेरापिस्टले मालिस गर्ने बेलामा कैयौं उपाय अपनाउने गर्छ । मसाज मांसपेशीको दुखाइबाट राहत दिलाउँछ ।
यसरी तेलको प्रयोग गरेर मसाज गर्दा अनेक मांसपेशीमा यसले फाइदा पुर्याउँछ । मसाज निम्न तरिकाले गर्न सकिन्छ ।
बडी मसाज
बडी मसाजमा पूरै शरीरको मालिस गरिन्छ । यसमा अनुहारको मसाज, खुट्टाको मसाज, हातको मसाज र कम्मरको मसाज पनि सामेल हुन्छ । बडी मसाजबाट पूरै शरीरमा रक्तपरिसञ्चरण बढ्छ र शरीरको दुखाइसँग सम्बन्धित सबै समस्या टाढा हुन्छन् ।
खुट्टाको मसाज
अहिलेको व्यस्त जीवनशैलीका कारण मानिसहरु थकित हुन्छन् । थकाइले धेरैको खुट्टा दुख्छ । यसका लागि खुट्टाको मालिस गराए मांसपेशीहरुमा तनाव कम हुन्छ ।
फेस मसाज
अनुहारमा गरिने मसाज आफैं पनि गर्न सकिन्छ । यसमा गाला, निधार, गर्दन लगायतका अंगमा मसाज गरिन्छ । हल्का तरिकाले औंलाले फेस मसाज गर्नुपर्छ ।
हेयर मसाज
हेयर मसाज विनातेल वा तताएको तेलले पनि गर्न सकिन्छ । हेयर मसाजले कपाल छिटो बढाउन सहयोग पुर्याउँछ भने कपाल झर्न पनि कम गर्छ । मसाजले टाउकोको छालाको रक्त सञ्चार समेत बढ्छ । हेयर मसाजबाट कपालको जरा समेत मजबुत हुन्छ ।
हेड मसाज
शिर र निधारमा गरिने मसाजलाई हेड मसाज भनिन्छ । यो मसाजले छालामा रक्त सञ्चार बढ्दा अक्सिजन प्रवाह पनि राम्रो हुन्छ । हेड मसाज गर्दा टाउको दुख्ने समस्याबाट पनि मुक्ति मिल्छ ।