चितवन, असोज १७ –
चितवनमा पछिल्लो केही हप्ता यता डेंगुका संक्रमित थपिने क्रम बढेको छ । चितवनमा जिल्ला बाहिरबाट आउने विरामीमा समेत धमाधम डेंगु पुष्टि हुन थालेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार आइतबार मात्रै ५२ जना संक्रमित थपिएका छन् । जसमध्ये चितवनका ४७ संक्रमित हुन् भने ठेगाना नखुलेका तीन र चितवन बाहिरका दुई संक्रमित छन् ।
चितवनमा चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म ५ हजार १४४ जनाको परीक्षण गर्दा ९८१ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये चितवनका ६५१ जना हुन् भने ठेगाना नखुलेका ११६ र अन्य जिल्लाका २१४ जना छन् । हालसम्म दुई संक्रमितको मृत्यु भइसकेको छ ।
चितवनका ६५१ संक्रमितमध्ये भरतपुरका मात्रै ४४४ संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ । खैरहनीका ५३, माडीका १९, रत्ननगरका ७६, राप्तीका ३६, कालिकाका ८ र इच्छाकामनाका ५ संक्रमित रहेका छन् । यस वर्ष चितवन लगायत देशभर डेंगुले महामारीको रुप लिएको छ ।