चितवन, असोज १०-
दसैँको मुखमा खाद्यान्नको मूल्यसूची सार्वजनिक भएको छ ।
किराना व्यवसायी संघ चितवनले उपभोक्ताले खरिद गर्ने मूल्य सार्वजनिक गरेको हो ।
दसैँमा उपभोक्ता ठगिन नपरोस् भन्ने हेतुले मूल्यसूची सार्वजनिक गरिएको किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलले बताए ।
संघले प्रतिकिलो चिनीको खुद्रा मूल्य ९० तोकेको छ ।
आयोडिनयुक्त नुन प्रतिप्याकेट २० रूपैयाँ राखेको छ । सोना चामलको मूल्य प्रतिकेजी ५० रूपैयाँ र सावित्री चामलको मूल्य प्रतिकेजी ५५ रूपैयाँ, जिरा चामल किलोको ८० र सोनम चामलको मूल्य किलोको ९० रूपैयाँ तोकिएको संघले जनाएको छ ।
यसपटक संघले आलु र प्याजको मूल्य प्रतिकिलो ५० रूपैयाँ निर्धारण गरेको छ । यस्तै, आयातित सनफ्लावर तेलको मूल्य प्रतिलिटर २६० र आयातित तोरीको मूल्य पनि २६० रूपैयाँ नै तोकेको छ ।
सोयाबिन तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रूपैयाँ छ । लोकल भटमासको तेलको मूल्य प्रतिलिटर १६०, मस्यौरा प्रतिकिलो १५०, बोडी प्रतिकिलो १६०, राजमा प्रतिकिलो १५० रूपैयाँ तोकिएको छ ।
यस्तै, चना प्रतिकिलो १०० रूपैयाँमा उपभोक्ताले खरिद गर्न सक्नेछन् भने चिउरा प्रतिकिलो ७५ रूपैयाँ निर्धारण गरिएको छ । आँटा ६२, मैदा ७५ र सुजी ९० रूपैयाँ किलो रहेको संघले जनाएको छ ।
यस्तै, खुला आँटा प्रतिकिलो ६२ र खुला मैदा ७५ रूपैयाँ कायम रहेको संघको भनाइ छ । सेतो केराउ र हरियो केराउको खुद्रा मूल्य प्रतिकिलो १२५ रूपैयाँ निर्धारण गरिएको छ ।
दालको खुद्रा मूल्य पनि यथास्थितिमै रहेको छ । मुुसुरो दाल प्रतिकिलो १५०, मास दाल प्रतिकिलो १५५, मुगु दाल खोस्टा प्रतिकिलो १६०, रहर दाल (पोलिस) प्रतिकिलो १७०, मुगु दाल प्रतिकिलो १८० रूपैयाँ रहेको किराना व्यवसायी संघले जनाएको छ ।








