चितवन, असोज १०-
नेपालीहरुको ठूलो पर्व बडा दशैं सुरु भएको छ । यतिबेला आफ्नो घर सफा गर्ने चटारो पनि धेरैलाई छ ।
हुन त आफू बस्ने घर तथा वरपरको वातावरण सधै सफा राख्नुपर्छ । तरपनि चाडपर्वमा हामी सरसफाइमा बढी ध्यान दिने गछौं । घरका झ्यालढोका, दराज, सिसा आदिको धूलो नियमित सफा गर्नुपर्छ । यसरी सफाइ गर्दा पानीमा सफा कपडा भिजाएर पुछ्नु उपयुक्त हुन्छ ।
सबैभन्दा पहिले भित्रदेखि बाहिरसम्म कुचोले बढार्ने । यसका लागि राम्रो तथा नभाँचिएको कुचो प्रयोग गर्नु वेश हुन्छ । घरको भुइँ पुछ्न सफा कपडा प्रयोग गर्नुपर्छ ।
पोछा लगाउँदा प्रयोग हुने पानी तथा पोछा समय–समयमा परिवर्तन गरिएन भने त्यही पोछा र पानीको मैलोले घर फोहोर बनाउँछ ।
बाहिर हिँडडुल गर्दा जुत्तामा फोहोर टाँसिएको हुन सक्छ । त्यसैले जुत्ता ढोका बाहिरै राख्नु उपयुक्त हुन्छ । जुत्ता राख्न छुट्टै र्याक प्रयोग गर्न सकिन्छ । कोठाभित्र भन्दा पनि बाहिर बक्स, र्याक तथा सानो दराज बनाएर जुत्ता राख्न सकिन्छ । जुत्तालाई सुत्ने कोठासम्म पुर्याउनु हुँदैन ।
घरको मुख्य ढोकामा धूलो, माटो सोस्ने किसिमको डोरम्याट राख्नुपर्छ । यसले खुट्टामा टाँसिएर आउने धूलो भित्र छिर्न पाउँदैन भने भित्र छिर्दा डोरम्याटमा खुट्टा पुछेर जान सकिन्छ ।
कोठामा केश कोर्दा केश झरेर कार्पेटमा टाँसिन सक्छ । त्यसैले केश बाथरुम तथा घरबाहिर कोर्नु उपयुक्त हुन्छ । बाथरुम प्रयोग गरिसकेपछि अनिवार्य रूपमा सफा गर्नुपर्छ । बाथरुममा छिट्टै पानी जम्ने तथा कीटाणु फैलने भएकाले यसलाई सफा गरिरहनुपर्छ । बाथरुम सधैं सुख्खा राख्नुपर्छ ।
कतिपयले २–३ वर्षको अन्तरालमा घरमा प्रयोग गर्ने सामग्री फेर्छन् । अहिले घरको सफाइ गर्न सहज छ । डिटर्जेन्ट, मफ, ब्रस, कोलिन आदिको प्रयोगले घर तथा घरमा प्रयोग हुने सामान सफा गर्न सकिन्छ । कोठा तथा बाथरुम फ्रेस राख्न ओडोनिल तथा एयर फ्रेसनर प्रयोग गर्न सकिन्छ । कार्पेट सफा गर्न भ्याकुम क्लिनरको प्रयोग प्रभावकारी हुन्छ ।
आफू बस्ने घरको सरसफाइलाई सधै प्राथमिकतामा राख्नुपर्छ ।
घरको सफाइ गर्दा घरलाई पखालेर रंगरोगन गर्नुपर्छ । त्यसपछि मात्र घरभित्र र बाहिरको अन्य सरसफाइ तथा सजावट गर्नु उपयुक्त हुन्छ । घरको भित्री तथा बाहिरी भागमा रंग लगाइसकेपछि मात्र अन्य सरसफाइको काम सुरु गर्नुपर्छ ।
कार्पेट सफा गर्नुपरे एकदिन डिटर्जेन्ट पानीमा भिजाएर छोड्ने र भोलिपल्ट त्यसलाई फिंजाएर ब्रसले घोट्ने । त्यसपछि कार्पेटलाई ठाडो पारेर पखाल्नुपर्छ ।
तामा तथा पित्तलका भाँडाकुँडालाई कागती पानीमा डुबाएर केही समय छोड्ने । त्यसपछि क्लिन्जिङ पाउडरले मस्काए भाँडाको दाग सजिलै जान्छ ।
सिसाका सामग्री सफा गर्दा फुटेर काट्न सक्ने भएकाले हातमा पन्जा लगाउनुपर्छ । यसबाट भाँडा चिप्लिएर खसे पनि फुट्ने तथा काट्ने सम्भावना हुँदैन ।
दराज, पलङ, टेबल तथा काठका अन्य सामान सफा गर्दा पातलो मलमलको कपडालाई डिटर्जेन्ट पानीमा भिजाएर पुछ्ने । अन्तिममा सादा पानीमा कपडा डुबाई निचोर्दै पुछ्ने । सफा गरेपछि मिल्ने सामानलाई केही समय घाममा सुकाउने ।
फ्रिज, टोस्टर, ओभनजस्ता भान्साका इलेक्ट्रोनिक्स सफा गर्दा प्लगमा ध्यान दिनुपर्छ । स्वीच अफ गरेर मात्र इलेक्ट्रोनिक्सको सफाइ गर्नुपर्छ ।
यसैगरी अहिले धेरैको घरमा वासिङ मेसिन, डिसवासर, फ्रिज, ग्यास, चुल्हो, ओभनजस्ता उपकरण हुन्छन् । यी सामग्रीले मानिसको दिनचर्या सहज बनाएका छन् । तिनको उचित हेरचाह तथा सफाइ सही तरिकाले गरे लामो समयसम्म टिक्नुका साथै काम पनि सहज एवं छरितो हुन्छ ।








