काठमाडौं, भदौ २६
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् ।
राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौं। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौं।’
आफू गरिब परिवारमा जन्मेको र पहाडमा खान लाउन नपाउने भएपछि चितवन झर्दा अहिले गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भइसकेकोमा गौरवशाली महससु हुने बताए ।
‘हामीले युवा अवस्थामा छलफलको क्रममा देशलाई लोकतान्त्रिक गणतन्त्रमा पुर्याउने सपना देखेका थियौँ। त्यो अठोट अहिलेसम्म कायम छ। तपाईहरु सपना बनाउनुस्। लागि पर्नुस् सफलता तपाईंहरुलाई चुम्न आइपुग्छ ।’ उनले भने, ‘म पहाडमा खान नपुगेर चितवन झरेको बच्चा अहिले गणतन्त्र नेपालको दुई पटक प्रधानमन्त्री भइसकेँ । मैले युद्धको कमाण्ड गरे सुप्रिम कमाण्डर बने विस्तृत शान्ति सम्झौताको नेतृत्व गरे। म गौरव ठान्छु ।’
त्यस्तै, अध्यक्ष प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् ।
देशको आर्थिक स्थिति बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उनको भनाइ थियो । देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि भएको बताउँदै प्रचण्डले भने, ‘पछाडि धकेलिँदै गएको देशको अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्छ।
कृषिपछि जलविद्युत, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्छ।








