२४ भदौ, काठमाडौं –
काठमाडौं उपत्यकाको महत्वपूर्ण पर्व इन्द्रजात्रा शुक्रबार मनाइएको छ । जात्राको राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुृर देउवालगायतले अवलोकन गरेका छन् ।
वर्षा र सहकालका देवता मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ ।
यसैदिन राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रही आएको छ । विभिन्न देवी–देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवी–देवताको रथसँगै शहर परिक्रमा गरेका छन् ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।