चितवन, भदौं १३-
नेकपा (माओवादी केन्द्र) ले सत्तासाझेदार दलहरुको सिट बाँडफाडमा चितवन ३ सहित प्रतिनिधिसभामा ६० र प्रदेश सभामा १२० सिटको दाबी गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित पार्टीको निर्वाचनसम्बन्धी कार्यक्रममा अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आगामी प्रतिनिधिसभा चुनावमा गठबन्धनमा ६० सिट दाबी गर्ने बताएका हुन् । कार्यक्रममा उनले माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभा सदस्यमा १२० सिट दाबी गर्ने बताएका हुन् ।
‘हामी प्रत्यक्षमा प्रतिनिधिसभामा ६० सिट भन्दा घट्न सकिँदैन, त्यस्तै १२० प्रदेशसभामा हाम्रो दाबी रहन्छ,’ उनले भने । त्यस्तै दाहालले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गठबन्धनभित्रको सिट बाँडफाँट बुधबारसम्म टुंगो लगाउने बताएका छन् । माओवादी अध्यक्ष प्र्रचण्डले यसअघि आफू आगामी निर्वाचनमा चितवन ३ बाटै निर्वाचन लड्ने घोषणा गर्दै आएका थिए । माओवादीका जिल्लास्तरीय नेताहरु पनि चितवन ३ मा प्रचण्डको विकल्प नभएको बताउँदै आएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई प्रचण्डको चुनावी प्रचारप्रसारको नेतृत्व गर्ने जिम्मेवारी पार्टीले दिएको छ ।
आज काठमाडौंमा आयोजित पार्टीको उपत्यका विशेष प्रदेश समितिको वैचारिक, राजनीतिक प्रशिक्षण तथा निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तीन चरणमा सिटको भागबन्डा टुंग्याउने बताए ।
भदौ १५ गतेसम्म सिट बाँडफाँट सक्ने र २० गते कुन क्षेत्रमा कुन दललाई उठाउने भन्ने निस्कर्ष निकाल्ने २५ भदौसम्म आ–आफ्नो पार्टीले उठाउने उम्मेदवारको टुंगो लगाइसक्ने उनले बताए । अध्यक्ष दाहालले गठबन्धन अब पनि रहने कि नरहने भन्ने बारेमा अहिले बहस चलिरहेको भन्दै यही गठबन्धनमा आगामी निर्वाचन लड्ने प्रतिबद्धता जनाए । उनले नेकपा एमालेप्रति लक्षित गर्दै प्रतिगमनकारी प्रवृत्ति परास्त नभएसम्म गठबन्धन रहिरहने दाबी गरे।















