दोधारा, भदौ १२-
कञ्चनपुर जिल्ला दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ ।
पछिल्लो समय जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुनथालेपछि कञ्चनपुर आत्मनिर्भर हुँदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको तथ्याङ्कअनुसार दूध र मासु अन्य जिल्लामा यहाँबाट निर्यात हुन थालेको छ ।
कञ्चनपुरमा सात हजार दुई सय ४५ मेट्रिक टन मासुको माग रहेकोमा सात हजार तीन सय ८८ मेट्रिक टन मासु उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका पशु चिकित्सक खडकबहादुर पाण्डेयले बताए ।
उनका अनुसार एक सय ४३ मेट्रिक टन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ ।
कञ्चनपुरमा ४७ हजार एक सय पाँच मेट्रिक टन दूधको माग भएकोमा ७० हजार सात सय ६० मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । २३ हजार छ सय ५५ मेट्रिक टन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ ।
उनका अनुसार पछिल्लो समय किसानले व्यावसायिक रुपमा पशुपालन गर्न थालेपछि जिल्लामा दूध उत्पादन बढेको हो ।
दोधारा चाँदनी भारतीय बजार नजिक भएकाले यहाँको दूध भारत जाने गरेको छ भने अन्य ठाउँको दूध कैलालीको डिडिसीले खरिद गर्ने गरेको उहाँले जानकारी दिए ।
माछा र अण्डा भने केही मात्रामा अन्य जिल्लाबाट ल्याउनुपरेको छ । पाँच हजार एक सय ७६ मेट्रिक टन माछाको माग रहेकोमा जिल्लामा एक हजार पाँच सय ७५ मेट्रिक टन मात्रै यहाँ उत्पादन हुने गरेको छ ।
ञ्चनपुरमा २४ हजार आठ सय ४६ मेट्रिक टन अण्डा खपत हुने गरेको तर जिल्लामा २० हजार मेट्रिक टन अण्डा मात्रै उत्पादन हुने गरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले जनाएको छ ।
श्री उन्नत भैँसीपालन ब्लक समन्वय समिति दोधारा चाँदनीका संयोजक लालबहादुर पुनले दोधारा चाँदनीको दूध भारत र महेन्द्रनगर बजारमा बिक्री हुने गरेको जानकारी दिए ।
उनले ४१ जनाको समूह बनाएर अहिले भैँसीपालन गरिरहेको बताए ।
उनका अनुसार दोधारा चाँदनीबाट मम, सेकुवाका लागि महेन्द्रनगर बजारमा खसीबोका लाने गरिन्छ ।
व्यावसायिक रुपमा भैँसीपालनमा लागेका बेदकोट नगरपालिका–७ का गणेश भट्टले दूध उतपादन प्रशस्त हुने भए पनि यहाँ खपत कम हुने गरेको बताए ।
मण्डी व्यवसायी समिति कञ्चनपुरका अध्यक्ष विशाल सुनारले यहाँ उत्पादन भएका बाख्रा, खसी काठमाडौँलगायत सहरमा जाने गरेको बताए ।








