– पूजा परियार
चितवन, ०७९ साउन २० –
पात्र एक –
पार्वती (नाम परिर्वतन) उनी ४६ बर्षकी भइन् । दुई छोरीको बिहे भइसक्यो, एक छोरा वैदेशिक रोजगारीमा छन्, उनका श्रीमानले परिवार र घर सम्हालेर बसेका छन् ।
पावती भने आफैलाई सम्हाल्न र नयाँ जीवन बिताउने अठोटसहित लागूऔषध पुनस्थापना केन्द्र अर्थात् रिहाब सेन्टरमा छन् । उनी मादक पर्दाथ सेवनकर्ता (अल्कोहलिक) हुन् ।
नवलपरासी घर भएकी उनको समाजमा मगर जातीको बाहुल्यता बढी छ । जसकारण घरेलु मदिराको बारेमा थाहा थियो । उनका श्रीमान्ले पनि मदिरा खान्थे । श्रीमान् श्रीमतीसँगै बसेर खादाँखाँदै पार्वतीलाई मदिराको लत नै बस्यो ।
श्रीमान्ले घरबाहिर बसेर मदिरा नखाओस् भनेर घरमै खाने बानी बसाल्न साथी बनेकी उनलाई अन्तमा लत छुटाउन परिवारले साथ थियो ।
बाह्मण समुदायकी उनलाई गाउँमा सबैले बाहुनी बज्यै भनेर चिन्थे । उनी भन्छिन् ‘रक्सीको लतले मलाई परिवार र समाज दुवैको नजरमा गिरायो, बाहुनी बज्यै भनेर चिनिने म, बिस्तारै जड्यैनी बज्यै भएँ ।’
परिवारकै सल्लाहमा उनी अहिले आफूलाई परिर्वतन गर्न लागि परेकी छन् । लत छुटाउन जति गाह्रो हुन्छ त्यति नै चुनौतीपूर्ण हुन्छ नशामुक्त जीवन बिताइरहन् ।
पार्वती भन्छिन्, ‘मनले आट्नुपर्छ, उमेरले केही फरक पार्दैन, परिवर्तन सम्भव छ ।’ तर पनि कुलतमा फसेर आफ्नो लोभलाग्दो उमेर र जवानीको समय खेर गएकोमा भने उनलाई निकै पछुतो छ ।
पात्र दुई –
सपना अधिकारी (नाम परिर्वतन), उमेर ३२ बर्ष । उनी पनि अल्कोहलिक हुन् । विगत डेढ बर्षदेखि रिहाबमा छन् । स्याङ्जाकी उनलाई श्रीमान्ले नै सुधारकेन्द्र बस्न आग्रह गरेर ल्याएका हुन् ।
उनका श्रीमान् वैदेशिक रोजगारीमा थिए । श्रीमान्सँगको दुरी, एक्लोपना, परिवारको जिम्मेवारीलाई एक्लै हाँकिरहेकी सपनाले अल्कोहललाई साथी बनाइन् ।
अल्कोहलले उनलाई क्षणिक खुशी दियो, तर लामो समयसम्म माया, परिवार अनि समाजबाटै टाढा बनायो ।
उनी भन्छिन्,‘केही बेर रिफ्रेस्मेन्टको लागि पिएको रक्सीले, सधैं याद आइरहने ह्याङ भएको छ । तर पनि म चेन्ज भएर देखाउने छु ।’
सपनाका अनुसार पछिल्लो समय धेरै महिलाहरु अल्कोहलिक हुन् थालेका छन् । वैवाहिक जीवन, हिंसा, सामाजिक संञ्जाल, देखाशिखी, जिम्मेवारी, एक्लोपना, सामाजिक रहनसहनले गर्दा महिलाहरु नजानिदो तरिकाले दुव्र्यसनमा फसिरहेका छन् ।
‘विदेशमा श्रीमान् भएका श्रीमतीहरु साथीसंगत, एक्लोपनालाई आधार बनाएर विभिन्न लतमा फँसेका छन् । तनाब भयो, हिंसा भयो भनेर पिडा भुलाउने बाहनामा नशा खानेहरुको संख्या बढ्दो छ ।’ सपना भन्छिन् ।
पात्र ३ –
१६ बर्षको उमेरदेखि लागूऔषध (ड्रग्स) प्रयोगकर्ता रहेकी हाल २२ बर्षिया संगिता थापा अहिले रिहाबमा छन् । उनी चितवनकी चेली हुन् । आमाको अनुहार याद समेत नभएकी संगिताका बुबा रोजगारीका लागि विदेश पुगे । उनीहरु बुबा र आमा बिनाको परिवारमा हुर्किए ।
कक्षा ११ मा पढ्नका लागि नरायणगढ आएकी संगितालाई साथीभाइको माया, उनीहरुसँग बिताउने समयले लागूऔषध प्रयोगकर्ता बनायो ।
परिवारको अभाव सधैं खड्कीरहे पनि बुवाले पैसाको अभाव कहिले हुन नदिएको संगिता बताउँछिन् । त्यसैले पनि उनलाई प्रयोगकर्ता बन्न सजिलो भयो ।
उनको संगत पहिले नै रिहाब बसेर आएकाहरुसँग हुन पुग्यो । उनलाई चाहिएको साथ थियो तर खराब साथीको संगत अनि रेखदेख गर्ने कोही नभएपछि लागू औषधको मात लाग्यो ।
विगत सम्झँदै उनी भन्छिन्, ‘पहिलो पटक ब्राउन सुगर खाएको हो । पहिलो पटक खाँदा वान्ता भयो, बिस्तारै बिस्तारै जति खायो उत्ती मज्जा आउन थाल्यो, अनि सबैभन्दा आफ्नो साथी नै हो भन्ने सोच्थें । ’
ब्राउन सुगरबाट सुरु भएको दुव्र्यसनको यात्रा सिरिन्ज प्रयोग गर्ने, विभिन्न औषधीहरु खाने, झुठो बोलेर पैसा माग्नेसम्म पुग्यो । अन्तमा उनी बुवाको आग्रहमा रिहाब पुगिन् । जसले दुव्र्यसनबाट मुक्त हुने दृढ शक्ति प्रदान गर्यो ।
आमा-बुबाको माया, रेखदेख नहुने, भनेजति पैसा दिने, हरेक आवश्यता पूरा गरिदिने कारण पनि किशोरकिशोरीहरु दुव्र्यसनमा फस्नुका मुख्य कारण भएको संगिताको अनुभव छ ।
एकता नेपाल चितवन :
माथि उल्लेखित पात्रहरु एकता नेपाल चितवन नामक सुधारकेन्द्रमा रहेर परिर्वनका लागि संर्घष गरिहेका पात्रहरु हुन् ।
एकता नेपाल भरपुर महानगरपालिका वडा नम्वर १ ठिमुरामा रहेको छ । जहाँ अहिले १५ जना दुव्र्यसनमा फसेका किशोरी तथा महिलाहरु छन् । यो चितवनको एकमात्र महिला सुधारकेन्द्र हो ।
सुधार केन्द्रमा रहेका ती महिलाहरूलाई उनीहरूको व्यवहार र प्रकृतिअनुसार ३ देखि ६ महिना राखिन्छ । आवश्यक पराशर्म, उपचार, हेरचाह गर्नुका साथै यहाँ सीपमूलक तालिम दिई स्वरोजगार बन्न प्रेरित समेत गरिन्छ ।
एकता नेपालमा रहेका महिलाहरुले सिलाइकटाइ, हस्तकलाका सामान बनाउने, हार्पिक तथा साबुन बनाउने तालिमहरु लिन पाउँछन् ।
सुधारकेन्द्रमा विशेष गरी काठमाडौँ, पोखरा, स्याङजा, झापा, धरान, सुनसरी, मोरङ, बाँके लगायत तराईका अधिकांश जिल्लाबाट दुव्र्यसनमा फसेकाहरु आउने गरेका छन् ।
यस संस्था २०६३ सालमा सुधार केन्द्रमा बसेर रिकभर भएका ९ जना महिला मिलेर संचालनमा ल्याइएको संस्था हो । जसको संचालक लागुऔषध प्रयोगकर्ताबाट कारोबारी भई ‘रिकभर’ भएकी शान्ता घले हुन् ।
दृढ सङ्कल्पले पुनर्जीवन पाएकी शान्ता घले, अहिले आफ्नो सन्तानको मात्र आमा नभई एकता नेपाल संस्था र त्यससँग सम्बन्धित सबैकी आमा बनेकी छन् । उनलाई आमाबाहेक ‘सानु दिदी’ भनेर पनि चिन्छिन् ।
‘लागुऔषध दुव्र्यसनमा फसेकाहरूलाई नयाँ जीवन दिन धेरै पुनस्र्थापना तथा सुधार केन्द्रहरू बनेका छन् । तर, सुधार केन्द्रमा बसेर मात्र मुक्ति मिल्छ भन्ने सोच्नु गलत हो’, शान्ता भन्छिन् ।
दुव्र्यसनबाट मुक्त हुन परिवारको साथ, सहयोग अनि आफूभित्र नै म परिर्वतन हुनुपर्छ भन्ने अठोटले मात्र पुनर्जीवन पाउने उनको अनुभव छ ।
चितवनमा लागूऔषध प्रयोगकर्ता तथा अपराधको संख्या बढ्दो :
चितवनमा लागुऔषध प्रयोगकर्ता तथा लागूऔषधका अपराधको संख्या बढ्दो छ ।
धेरैजसो १५ वर्षदेखि ४५ वर्ष उमेर समूहमा लागूऔषधको प्रयोग बढ्दो देखिन्छ । गत वर्षमात्रै चितवनमा लागूऔषध मुद्दामा १५४ जना पक्राउ परेका छन् ।
जसमा महिला ११ जना र पाँच जना बालक रहेका छन् । यीमध्ये १७ वर्षको एक जना, १६ वर्षको दुई जना र १५ वर्षको दुई जना बालक रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुबाट गाँजा, चरेस, खैरो हिरोइन, डाइजेपाम, व्युपिनोर्फिन, फेनारगन, नाइट्रोजेपाम ,ट्याब्लेट तथा सिरिन्जहरु प्रहरीले बरामद गरेको छ ।
लागूऔषध प्रयोगकर्ता तथा कारोबारीहरुले चितवनलाई बढी प्रयोग गर्ने गरेको पाइएको छ । जसको प्रमुख कारण खुला सिमाना पनि रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए ।
चितवनमा आर्थिक वर्ष ०७६/०७७ मा ८५ वटा, आर्थिक वर्ष ०७७/०७८ मा ९५ वटा र ०७८/०७९ मा १०६ वटा मुद्दा लागूऔषधतर्फ दर्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।








