काठमाडौं, साउन १४-
गत आर्थिक वर्ष २०७८ र ७९ मा नेपालबाट ३० करोड ५१ लाख रुपैयाँको खानेपानी निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असार महिनासम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको खानेपानी निर्यात भएको हो ।
यसरी निर्यात भएको पानी तीन प्रकारको रहेको भन्सार विभागले जनाएको छ । जसमा मिनरल्स वाटरको नामबाट २९ करोड ९५ लाख, ‘स्नो’ वाटर ५३ लाख, ‘प्रोसेस्ड’ पानी ३ लाख रुपैयाँको निर्यात भएको छ ।
विश्वका १२ वटा मुलुकमा नेपालबाट पानी निर्यात हुने गरेकोमा छिमेकी मुलुक भारतमा सबैभन्दा धेरै २९ करोड ९५ लाख रुपैयाँको पानी निर्यात भएको छ ।
यस्तै, कतारमा २५ लाख रुपैयाँभन्दा बढीको पानी निर्यात भएको छ भने अस्ट्रेलियामा १३ लाख र चीनमा ११ लाख रुपैयाँका खानेपानी निर्यात भएको छ ।
पानी कतार, फ्रान्स, अस्ट्रेलिया, बेलायत, जापान र चीन लगायतका मुलुकमा समेत नेपालबाट निर्यात हुन्छ ।