नारायणगढ (चितवन),चैत ३० –
भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि कुरिलो खेती गर्दै आएको छ । आश्रमका व्यवस्थापक तारानाथ पौडेलका अनुसार आश्रमअन्तर्गत सञ्चालित पशु तथा कृषि फार्ममार्फत कुरिलो, अम्बा, भुइँकटहरलगायत बाली पूर्ण रूपमा प्राङ्गारिक तरिकाले उत्पादन गरिँदै आइएको हो ।
आश्रम सञ्चालनका लागि सामूहिक प्रयासस्वरूप १८ वर्षका लागि वार्षिक रु ७२ हजारमा जमिन भाडामा लिएर खेती गरिएको छ । सो जमिनमध्ये १५ कट्ठामा कुरिलो खेती गरिएको उहाँले जानकारी दिनुभयो । यसबाट आएको आम्दानीले आश्रम सञ्चालनमा आर्थिक सहयोग पुगेको उहाँको भनाइ छ ।
प्राङ्गारिक उत्पादन भएकाले बिक्रीका लागि बजार खोज्न नपर्ने र फार्म तथा आश्रमबाटै सहज रूपमा बिक्री हुने गरेको उहाँले बताउनुभयो । “प्राङ्गारिक उत्पादन भएकाले खर्च बढी लाग्ने भए पनि यसको माग राम्रो छ,” व्यवस्थापक पौडेलले भन्नुभयो । कुरिलो औषधीय गुणयुक्त बाली भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । यसमा कुनै पनि रासायनिक मल तथा विषादी प्रयोग नगरिएको र गाईको गोबर तथा गौमूत्रबाट तयार गरिएको मल प्रयोग गरिँदै आएको छ ।
“विषादी प्रयोग गर्दा खेती सजिलो हुन्छ तर हामीले पूर्ण रूपमा प्राङ्गारिक विधि अपनाएकाले उत्पादन केही कम हुन्छ,” उहाँले भन्नुभयो । कुरिलो खेतीमा करिब रु आठ लाख लगानी गरिएको छ । उत्पादनबाट आएको आम्दानीले खर्च कटाएर आश्रम सञ्चालनमा सहयोग पुगिरहेको पौडेलले बताउनुभयो ।
याम अनुसार कुरिलोको मूल्य प्रतिकिलो रु ५०० देखि एक हजार २०० सम्म पर्ने गरेको छ भने याममा दैनिक करिब २० केजीसम्म बिक्री हुने गरेको छ । यसका साथै सिजनका अन्य तरकारीहरु पनि लगाइँदै आएको उहाँको भनाइ छ ।
व्यवस्थापक पौडेलका अनुसार कुरिलोको मुख्य सिजन चैत, वैशाख र जेठ महिना रहेको छ । यहाँ यो बाली चार वर्षदेखि उत्पादन हुँदै आएको र उचित हेरचाह गरेमा १०–१२ वर्षसम्म उत्पादन दिन सक्ने उहाँले बताउनुभयो ।
प्राङ्गारिक खेती गर्दा रोग, कीरा तथा झारको समस्या बढी हुने उल्लेख गर्दै उहाँले बेला–बेलामा कृषि विकास कार्यालय चितवनका प्राविधिक सहयोगमा खेतीलाई अझ व्यवस्थित बनाउँदै आएको बताउनुभयो । कुरिलो रोपेको करिब ६ महिनापछि उत्पादन लिन सुरु गर्न सकिन्छ । यसको बीउ बजारमा सजिलै पाइन्छ भने माघ, फागुन र चैत महिना रोपाइँका लागि उपयुक्त मानिन्छ ।
हाल आश्रममा २० जना आश्रित तथा आगन्तुकका लागि निःशुल्क भोजनको व्यवस्था गरिएको छ । साथै आश्रममा गाई पालिएकाले प्राङ्गारिक मल उत्पादनमा सहयोग पुगेको छ ।रासस










