तेहरान,चैत २३ –
अमेरिका र इजरायलले इरानको शरिफ युनिभर्सिटी अफ टेक्नोलोजीमा आक्रमण गरेका छन् । बीबीसी पर्सियनका अनुसार यस आक्रमणका कारण राजधानी तेहरानका केही क्षेत्रमा ग्यास आपूर्ति अवरुद्ध भएको छ । रिपोर्टअनुसार, विश्वविद्यालयमा विशेष गरी यसको प्रविधि केन्द्र भवन र मस्जिदमा क्षति पुगेको देखिएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिरहरूमा तेहरानका विभिन्न स्थानबाट बाक्लो धुवाँ उठिरहेको देखिन्छ । यसैबिच, राजधानीकै एक आवासीय भवनमा भएको अर्को हवाई आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
विश्वविद्यालय रहेको जिल्लाका मेयरले आक्रमणका कारण ग्यास आपूर्ति अस्थायी रूपमा बन्द गरिएको बताएका छन् । युद्ध सुरु भएयता इरानका विभिन्न शैक्षिक संस्थाहरू पनि आक्रमणको निशानामा परेका छन् ।
यसअघि इरान विज्ञान तथा प्रविधि विश्वविद्यालय र शाहिद बेहेश्ती विश्वविद्यालयमा समेत आक्रमण भएको खबर आएको थियो । एजेन्सी








